काठमाडौं,फागुन ८- बिहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । वायुको प्रभावले देशभरिकै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने महाशाखाले जनाएको छ ।
आज दिउँसो पहाडी क्षेत्रको थोरै ठाउँमा हल्का पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ । यस्तै बिहीबार रातिदेखि यो प्रणाली अझै सक्रिय हुने देखिएकाले राति देशभरिकै मौसम बदली भइ केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको महाशाखाले बताएको छ।
विहीबार र शुक्रबार मौसम नखुले पनि शनिबारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् बताएका छन् ।
यस्तो रहन्छ आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन ०८ गते (बिहिबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको देखिन्छ ।
फागुन ०९ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातीः देशभर आँशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ ।
फागुन १० गते (शनिबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका थोरै स्थानहरु र पश्चिमी पहाड का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ ।
FACEBOOK COMMENTS