काठमाडौं । १३८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकर बहादुर राईको इजलासले सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि थप तस्करी बारे खुलेको थियो । विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा यो समूहले १३८ किलो सुन तस्करी गरेको भन्दै सोही बराबर बिगो र जरिवाना दाबी गरेको छ ।
पछिल्लो पटक सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मिनबहादुर घले, यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
यही मुद्दामा प्रतिवादी बनाइएका डीबी भन्ने दनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङ भने फरार छन् ।
यस्तै तस्करीको सुन विमानस्थलबाट गिरोहको घरसम्म पुर्याइदिने कर्मचारी पनि जेल चलान भएका छन् ।
विमानस्थलका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत जेल चलान भएका हुन् ।
उनीहरु नागरकि उड्ययन प्राधिकरण अन्तर्गतका कर्मचारी हुन् । उनीहरुले दनबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारी गरेको आरोप छ ।
सुन तस्करीमा नाम जोडिएका र बयान पोलेका अंकित अग्रवाल, राजेन्द्र बस्नेत, बिमल पोद्दार, राजकुमार भारती, जीवन गुरुङ, गुरु भन्ने व्यक्तिहरुको एकिन नाम, थर, वतन र कसुर खुलेका बखत पेश गरिने भएको छ ।
FACEBOOK COMMENTS