काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हायत रिजेन्सी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२४सम्पन्न गरेको छ । सन् २०२३ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२४ ’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।
कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिन भित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउदा मन हर्षित भएको बताए । “पराक्रमी गति, आक्रामक नीति ” भन्ने नाराका साथ कम्पनीले मनाई रहेको सार्क वर्ष २०८०/८१ को उदेश्यलाई शिरोधार्य गर्दै व्यवसाय विस्तारमा दत्त चित्त भई कार्य सम्पादन गर्न सम्पूर्ण अभिकर्तालाई आग्रह गरे ।
नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । बीमकको माग अनुरुप बजार सुहाउँदो बीमा योजनाहरु निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरी रहेको जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण अभिकर्ताहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय रहेको बताए ।
कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन गरेको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गरे । उनले मान्छेले जे परिकल्पना गर्छ त्यहि नै प्राप्त गर्ने हुँदा ठुलो उद्देश्य लिई अगाडी बढ्न आग्रह गरे ।
FACEBOOK COMMENTS