प्रभावकारी भूमिका खोज्दै पोखरा महानगरका वडा सदस्य
कर्पोरट खबर
6:57 am, शुक्रबार, माघ ५, २०८०
गण्डकी । पोखरा महानगरपालिकाभित्रका वडा सदस्यहरू आफ्नो प्रभावकारी भूमिकाको माग गर्दै त्यसको खोजीमा जुटेका छन् ।
जनताबाट निर्वाचित भएर पनि कर्तव्य, अधिकारको प्रयोगसँगै प्रभावकारी भूमिका समेत पाउन नसकिएको भन्दै आफ्नो भूमिकालाई देखिने किसिमको बनाउन सदस्यहरूले पहल थालेका हुुन् ।
जनताको मतबाट निर्वाचित भएपछि अधिकांश स्थानमा गणपुरक मात्रै बन्नुपरेको भन्दै महानगरभित्रका वडा सदस्यहरू संगठित बन्दै गएको महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदीपराज ढुुङ्गानाले बताएका छन् ।
पहिलो चरणमा महानगरका केही वडा सदस्यहरू भेला भई आफ्ना अधिकार, कर्तव्य तथा भूमिकालगायतका विषयमा छलफल गरेको उनले बताए । उनले दोस्रो चरणमा सबै वडा सदस्यलाई सहभागी गराएर बृहत छलफल गर्ने निर्णय गरिएको जानकारी दिए ।
संविधानले पनि वडाध्यक्षका लागि ५५ वटा जिम्मेवारी दिएको तर वडा सदस्यको काम, कर्तव्य र अधिकार भनेर दुई वटा वाक्य मात्र उल्लेख गरेको उनको भनाइ छ । “वडा समितिको बैठकमा सहभागी हुने र तोकिए बमोजिम वा वडाध्यक्षले तोकेको काम गर्ने छन् भनेर वडा सदस्यको भूमिकालाई खुम्च्याइएको छ”, ढुुङ्गानाले भने ।
महानगरमा गरिएको करबृद्धि सम्बन्धमा पनि आफूहरूको फरक मत रहेको बताउँदै उनले कर बढाउने नभइ करको दायरा बढाउनुुपर्नेमा जोड दिए । करमा सबैभन्दा बढी विभेद ग्रामीण क्षेत्रमा भएको बताउँदै उहाँले महानगरभित्रका विकट गाउँ बस्तीमा महानगरको न्यायोचित दृष्टि हुनुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS