नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना लिमिटेड बन्द भएकोबारे गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले चासो देखाएको छ ।
देशकै ठूलो उद्योग निजीकरणमा गएर बन्द भएपछि यसले नागरिकमा नकारात्मक असर परेकाले यसबारे बुझ्ने र उद्योगको वर्तमान अवस्थाबारे सरकारलाई ध्यानाकर्षण गराउने आफूहरूको उद्देश्य रहेको अर्यालको भनाइ छ ।
“हाम्रो अनुगमनका क्रममा उद्योगका कर्मचारी, व्यवस्थापन पक्ष र स्थानीयबाट आएका सकारात्मक पक्षबारे सरकारलाई ध्यानाकर्षण गराउँछौँ”, उनले भने, “बन्द उद्योगलाई यस ठाउँबाट हटाउनुभन्दा पनि यी उद्योग सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो चाहना हो ।” बन्द उद्योग सरकारले मात्रै पुनःसञ्चालन गर्न चाहेर नहुने भन्दै उहाँले स्थानीयले चाहेनन् भने बलजफ्ती गरेर उद्योग खोल्न नसकिने बताए ।
अनुगमनका क्रममा समिति सदस्य एवं नवलपुरका प्रदेशसभा सदस्य पद्मा जिसीले बन्द रहेको भृकुटी कागज कारखाना जीर्ण अवस्थामा रहेकाले यहाँको वस्तुस्थितिबारे बुझ्न र सरकारलाई यथार्थ जानकारी गराउन आफूहरू स्थलगत अवलोकनमा आएको बताइन् । “उद्योग चल्दा यहाँको अवस्था सुन्दर थियो, तर अहिले बन्द कारखानाले यहाँको सौन्दर्यतालाई नै नराम्रो बनाएको छ”, उनले भनिन् ।
बजारको बीचमा रहेको उद्योग पुनः सञ्चालन गर्ने अवस्थाबारे अध्ययन तथा यहाँ कार्यरत मजदुरको पारिश्रमिकका विषयमा समेत जानकारी लिएको उनले बताइन् । “उद्योग सञ्चालन गर्नुपर्नेबारे हामीले सदनमा कुरा उठाएका थियौँ, तर ती कुरा सतही थियो, स्थलगत अनुगमनपछि यसबारे हामीलाई थप जानकारी मिलेको छ”, उनले भनिन् “यहाँको अवस्था हेर्दा दर्दनाक नै छ, राज्यको यत्रो सम्पत्ति खण्डहर भएर बसेको देख्दा दुःख लागेको छ ।”
भृकुटी कागज कारखाना व्यवस्थापनका विषयमा प्रदेश सरकारले सङ्घीय सरकारसँग कुरा लिएर जानुपर्ने उनले बताइन् । विसं २०४३ बाट सञ्चालनमा आएको उद्योग २०४९ सालमा निजीकरण गरिएको थियो । निजीकरण गरिएको करिब १८ वर्षसम्म नियमित सञ्चालनमा आएको उद्योग २०६९ सालमा औपचारिकरूपमा बन्द गरिएको थियो । उद्योग बन्द भएपछि यहाँ कार्यरत मजदुरको करिब रु ३३ करोड पारिश्रमिक उद्योगले भुक्तानी गर्न बाँकी छ ।
FACEBOOK COMMENTS