काठमाडौं । दुई सय पटक भन्दा बढी रक्तदान गरेर धेरै मानिसको अकाल मृत्युबाट बचाएका काभ्रेका अर्जुन मैनाली आफूले भने अकालमै मृत्यु रोजेका छन् ।
नेपालको काभ्रेपलाञ्चोक घर भएका उनले अमेरिकामा आत्मदाह गरेका हुन् । पारिवारिक तनावको कारण मृत्युको बाटो रोजेका उनको शव अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा भेटिएको छ ।
प्रहरीले जलेको अवस्थामा शव भेट्टाएको अमेरिका निवासी पुरुषोत्तम ढकालले जानकारी दिए । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र समेत दिइसकेको उनको भनाइ छ ।
मृत्युवरणअघि उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो मृत्युको कारण सालो रमेश र सालोकी श्रीमती अस्मिता भएको उल्लेख गरेका छन् । मैनालीको परिवार र सालाको परिवार नर्थ क्यारोलिनामै बस्दै आएका छन् । मृतक मैनालीको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा सानै छन् ।
आत्मदाहअघि मैनालीले लेखेको स्टाटस पढ्दा उनका सालो र सालोकी श्रीमतीले लगाएको त्यो बचनकै कारण आफूले मृत्युको बाटो रोजेको स्पष्ट गरेका छन् । उनले आफ्नी श्रीमती तारालाई सम्बोधन गर्दै लेखेका छन्, ‘आज म परलोक जाँदै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ, शब्द पनि काफी हुँदो रहेछ । जीवनभरि सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ ।’
सालोको परिवारले लगाएको बचनकै कारण आफूले आत्महत्याको बाटो रोजेको भन्दै उनले अगाडि लेखेका छन्, ‘मेरो आफ्नै स्वास्नीको सामुन्ने तातो न छारोको कुरामा नामर्द, नीच, खत्तम परिवारको मानिस, संस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला ! यसरी उसले आफू असल परिवार र संस्कार भएको उदाहरण पनि दियो ।’
यस्तो छ, मैनालीको स्टाटसको पूर्ण अंश–
प्यारी श्रीमती तारा,
धेरै धेरै माया !आज म परलोक जाँदै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ, शब्द पनि काफी हुँदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ ।
मेरो आफ्नै स्वास्नीको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, नीच, खत्तम परिवारको मानिस, संस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफू असल परिवार र संस्कार भएको उदाहरण पनि दियो ।
त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनीहरूका ९–१० बर्षकी छोरी, १३–१४ वर्षका छोरा सहित हाम्रो घरमा आएर गरेको झगडाको दूरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिए, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थिएन ।
उसले आफ्नो स्वास्नीको गर्मीलाई शीतल बनाउन तिम्रो घरबार बिगार्यो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठूलो नोक्सान बनाएर उसले के जित्यो ? के पायो ? अब तिम्रो क्षतिलाई उसले सुनकै घर बनाएर दिए पनि पूर्ति हुन सक्ला त ?
छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ वर्ष ढिलो नहोस् भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु ।
छोराले सोध्यो, ‘यो कारमा को आएको छ’ ? त्यसपछि यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनि मेरो आँखा रसाउँथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन् ।
गत बर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएनछ । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन् । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनीय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शीतल र सुखानुभूति हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरूलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ ।
मेरो दु:खत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरूले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता सङ्गठन जस्ता कुरालाई निरन्तरता दिई रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरू रगत अभावले नमरुन् ।
मैले विगत ३६ वर्षसम्म गरेका कर्म–धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन् । प्रेरित हुन । अरू के भनम ! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज विगत १ बर्षदेखिको दु:ख सकिँदै छ ।
म, तिमी, छोरा–छोरी (अमुन–अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा–छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कुदृष्टि पर्यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस् ।
यदि परेमा फेरि पनि तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिति आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस् । तिम्रो श्रीमान् ।
ॐ नम: सिवाय !
ॐ भूर्भुव: स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो न: प्रचोदयात ।।
FACEBOOK COMMENTS