काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई मंगलबार मन्त्रालयमै शपथ ग्रहण गराएकी हुन् ।
गत ६ फागुनको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनी यसअघि मन्त्री शर्माको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार थिए । तत्कालीन मेरो मोबाइल (हालको एनसेल) बाट दूरसञ्चार सेवामा प्रवेश गरेका भण्डारीले विभिन्न देशमा मोबाइल सेवा प्रदायक कम्पनीका काम गरेका थिए ।
गत असारदेखि मन्त्रीको सल्लाहकार भएर सिंहदरबार छिरेका भण्डारीले नियामक निकाय दूरसञ्चार प्राधिकरणको अध्यक्षको शपथग्रहण गर्नासाथै जमलस्थित कार्यालयमा पुगेर पदभार पनि ग्रहण गरेका छन् ।
नवनियुक्त अध्यक्ष भण्डारीले दूरसञ्चार क्षेत्रको बदलिंदो आयामका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने बताए ।
FACEBOOK COMMENTS