काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा केही हुँदैन भन्ने मानसिकता विकास हुँदा युवा पलायन बढेको बताएका छन् ।
सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रमअन्तर्गत आज शुक्रबार नायक राजेश हमालसँगको संवादमा ओलीले युवालाई देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास जगाउन आवश्यक रहेको ओलीले बताएका हुन् ।
‘युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना, गर्न सकिन्छ भन्ने विश्वास, गर्न सक्छौँ भन्ने आत्मविश्वास दिलाउनुपर्छ’, अध्यक्ष ओलीले भने । युवाको विदेश पलायन रोक्नु आजको मुख्य चुनौती भएको ओलीको भनाइ छ ।
धेरै नेपाली युवा विदेशमा नै बस्ने गरी पलायन हुँदै गएकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष ओलीले अध्ययनका लागि बाहिर गएका धेरै नेपाली युवा स्वदेश फर्कने मनस्थितिमा नरहेको बताए । ओलीले कुनै पनि देश त्यतिकै धनी नहुने भन्दै देश विकास गरेरै धनी हुने प्रष्ट पारे ।
देश विकासको लागि देशवासीले नै पसिना बगाएको स्पष्ट पार्दै उनले भने, ‘युवा पङ्क्तिलाई हामीले हाम्रो देश बनाउनुपर्छ, अनि मात्र विकसित हुन्छ, सुविधा सम्पन्न देशमा बस्न पाउँछौँ भन्ने कुरा बुझाउनुपर्छ ।’ युवालाई देशमा नै काम गर्ने वातावरण भने राज्यले बनाउनुपर्ने उनको धारणा छ ।
FACEBOOK COMMENTS