काठमाडौं । शुद्ध चाँदीका बार तथा सिक्काको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा नयाँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीले आगामी आइतबार कात्तिक १५ गते न्युरोड मलको पहिलो तलामा आउटलेट उद्घाटन गर्ने तयारी पूरा गरेको जनाएको छ ।
हाल ज्ञानेश्वरबाट मात्रै कारोबार गर्दै आएको कम्पनीले व्यवसाय विस्तार गर्ने उद्देश्यले न्युरोडमा पनि सेवा सुरु गर्न लागेको सञ्चालक भिष्म गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ आउटलेट सञ्चालनमा आएपछि ग्राहकलाई चाँदीका बार तथा सिक्का अवलोकन गरी खरिद गर्न सहज हुनेछ । भविष्यमा देशका अन्य प्रमुख सहरमा पनि आउटलेट विस्तार गर्ने कम्पनीको योजना छ ।
न्युरोड आउटलेटबाट ग्राहकले चाँदीका बार तथा सिक्का प्रत्यक्ष अवलोकन गरी खरिद गर्न सक्नेछन् । मोबाइल एपमार्फत खरिद गरेको चाँदी पनि त्यहीँबाट संकलन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले चाँदीको कारोबारलाई सहज र पारदर्शी बनाउन गत घटस्थापनाका दिन ‘एचबीसी एप’ सार्वजनिक गरेको थियो । एपमा खाता खोली ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि ग्राहकले दैनिक मूल्य हेर्न र आफूले खरिद गर्न चाहेको परिमाण तय गर्न सक्छन् । एपमार्फत १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिनेछ ।

कम्पनीले एपका ग्राहकलाई व्यक्तिगत दुर्घटना बीमासमेत उपलब्ध गराउने घोषणा गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) सँगको सहकार्यमा उपलब्ध हुने बीमा सुविधा बीमालेखका सर्तअनुसार लागू हुनेछ । चाँदी खरिद गरेको पटकका आधारमा ग्राहकलाई स्ट्यान्डर्ड, गोल्डेन र प्लाटिनम गरी तीन श्रेणीमा वर्गीकरण गरी क्रमश: एक लाख, पाँच लाख र १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

एचबीसी एप भौतिक चाँदी खरिद गर्ने माध्यम रहेको कम्पनीको भनाइ छ । एपमार्फत बुक गरिएको चाँदीको सम्पूर्ण रकम भुक्तानी गरेपछि ग्राहकले कम्पनीको आउटलेटबाट संकलन गर्न सक्नेछन् । कम्पनीका अनुसार खरिद गरेको चाँदी तीन दिनपछि कम्पनीले प्रकाशित गरेको पुन: खरिद मूल्यमा एचबीसीलाई नै बिक्री गर्न सकिनेछ ।

कम्पनीबाट उत्पादित चाँदीका बार तथा सिक्का प्रमाणिकताको प्रमाणपत्र र बिलसहित उपलब्ध हुने जनाइएको छ । कम्पनीले ती उत्पादनमा ९९.९९ प्रतिशत शुद्धता रहेको दाबी गरेको छ । चाँदीका लागि आवश्यक ग्रान्युल्स दुबई र हङकङबाट आयात गरिँदै आएको कम्पनीले जनाएको छ ।