काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्यमान अवस्थामा नेपालको अर्थतन्त्रमा शिथिलता देखिए पनि बजारमा हल्ला भएजस्तो साह्रै कमजोर अवस्थामा भने नरहेको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कले आज शनिबार आयोजना गरेको ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’लाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले अहिले अर्थतन्त्रमा शिथिलता देखिए पनि साह्रै कमजोर अवस्थामा भने नरहेको ताएका हुन् ।
‘सार्वजनिक वित्तको क्षेत्रमा केही काम गर्नुपर्नेछ । लक्ष्यअनुसार राजस्व सङ्कलन र विकास बजेट खर्चलाई सरकारले प्राथमिकताका साथ अघि बढाउँछ । निर्माण व्यवसायीलाई भुक्तानी गर्न बाँकी करिब रु ४० अर्बको दायित्व हुँदो रहेछ । सरकारले त्यो दायित्व चाँडै भुक्तानी गर्नेछ । म आउने बित्तिकै करिब रू. ३० अर्ब जति बजारमा जाने गरी निर्णय गरेको छु,’ अर्थमन्त्री पुनले भने ।
लघुवित्त क्षेत्र र सहकारी क्षेत्रमा आएको समस्याका कारण पनि अर्थतन्त्रमा केही समस्या देखिएको उनको भनाइ छ । सरकारको वित्त नीति र मौद्रिक नीतिबीच सामञ्जस्यता हुन नसकेको विषयमा गभर्नरलाई मात्र दोष लगाउने नभई राष्ट्र बैङ्कको सञ्चालक समिति पनि उत्तिकै जिम्मेवार हुने उनको भनाइ छ ।
नेपालमा सबैभन्दा राम्रो व्यवस्थापन भएको क्षेत्रको रुपमा बैकिङ क्षेत्र चिनिने उल्लेख गर्दै अर्थमन्त्री पुनले अहिले कुनै पनि बैङ्क समस्यामा नरहेको स्पष्ट पार्नुभयो । बजारमा अधिक तरलता हुँदा कसरी व्यवस्थापन गर्ने भनेर नियामक राष्ट्र बैङ्कले सोच्नुपर्ने पनि उनको भनाइ छ ।
अर्थमन्त्री वर्षमान पुन भन्छन्– समीकरण फेरिए पनि सरकारका नीति परिवर्तन हुँदैनन्
FACEBOOK COMMENTS