काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा तीनदेखि जारी २५औँ पुष्प मेलालाई आजै मात्र १७ हजारले अवलोकन गरेका छन् भने ३५ लाखा भन्दा बढीको कारोबार गरेको छ ।
आइतवार (भोली)सम्म चल्ने सो पुष्प मेलालाई ५० हजारले अवलोकन गर्ने र एक करोड रुपियाँको कारोवार गने लक्ष्य फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) लिएको थियो । त्यसमध्ये तीन दिनमा ४० हजारले अवलोकन गरिसकेका छन् भने करिब ८५ लाख रुपियाँ बराबरको कारोबार गरेको छ ।
२५औँ फ्लोरा एक्पो ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ सुरु भएको सो मेलालाई आज कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले पुष्प क्षेत्रको सम्भावना निकै रहेको पाएको उनले बताइन् ।
पुष्पले नेपालको अर्थतन्त्रमा ठूलै सहयोग पुर्याउँदै आएको बताउँदै उनले फूलमा आत्मनिर्भर हुनका लागि उत्पादनमा जोड दिनुपर्ने बताइन् । पुष्प व्यवसायी तथा किसानसँग भएको समस्याको बारेमा पनि आज आफू अवगत भएको र केही दिनमै सम्बन्धित पक्षलाई बोलाएर छलफल गरी त्यसलाई समाधान गर्ने बताइन् । पुष्प व्यवसायीलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिदै उनले पुष्प क्षेत्रमा चुनौती छ तर त्यसका अवसरहरु पनि धेरै रहेका हुनाले यो क्षेत्रलाई चाँडै नै आत्मनिर्भर बनाउन सकिने अवस्था रहेको बताइन् ।
मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । भोलीसम्म मेलालाई करिब ५० हजार भन्दा बढीले अवलोकन गर्ने विश्वास आफूलाई लागेको बताउँदै करोबार पनि एक करोड भन्दा बढी हुने विश्वास लिएको बताए ।
मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय शुल्क तोकिएको आयोजकले जनाएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही मात्रा सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अन्य समयमा प्रयोग हुने फूलमा मुलुक आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ ।
फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।
नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिए ।
विशेषगरी रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यसवर्ष लक्ष्यमा पुग्न सहज हुने विश्वास एसोसिएसनले लिएको छ । वार्षिक तीन अर्ब सात करोड रुपियाँको फूलको कारोबार हुने गरेको छ ।
FACEBOOK COMMENTS