पोखरा । पर्यटकीय सहर पोखरा आजदेखि औपचारिक रूपमा पर्यटनको राजधानी बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।
पोखराका पर्यटन व्यवसायी एवम् पर्यटन क्षेत्रसम्बद्ध संघसंस्ठाहरूले पोखरालाई पर्यटन राजधानी घोषणा गर्नुपर्ने माग दशकौंदेखि राखिरहेका थिए । अन्तत: आज (आइतबार) प्रधानमन्त्री रिमोट दबाएर पर्यटकीय राजधानीको लोगो नै अनावरण गरेका हुन् ।
पोखरालाई पर्यटन राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा संयोजकत्वमा विशेष अध्ययन समिति गठन गरेको थियो । समितिले विभिन्न २० सूचकका आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने निचोड सहितको प्रतिवेदन प्रदेश सरकारमा पेश गरेको थियो ।
समितिको सिफारिसबमोजिम प्रदेश सरकारले फागुन २३ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । सो घोषणा कार्यान्वयन गर्न आज फेवाताल छेउको बाराहीघाटमा विशेष समारोहमा आयोजना भइरहेको छ ।
FACEBOOK COMMENTS