पोखरा । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले शुक्रबार आफ्नो २७ औं वार्षिकोत्सव मनाएको छ । फाइनान्सका अध्यक्ष राजकुमार गुरूङले आगामी दिनहरुमा समेत आफ्ना ग्राहकहरुलाई छिटो, छरितो, सुरक्षित एवम् सुदृढ सेवा प्रदान गर्न फाईनान्स तत्पर रहेको बताए ।
यसबीचको अवधिमा फाइनान्सको जारी तथा चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । संस्थाको हाल अधिकृत पुँजी १ अर्ब ५० करोड छ । शाखा सञ्जाल २४ वटा पुगेको छ भने १ एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ । फाइनान्सले २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको राष्ट्रियस्तरको पोखरा फाइनान्स नेपालभर सञ्चालित फाइनान्सहरु मध्ये पुरानो हो ।
यसबीच २७ औं वार्षिकोत्सवको अवसरमा फाइनान्सले शुक्रबार प्रधान कार्यालय न्युरोड पोखराको प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले २७ वर्षसम्मको निरन्तर यात्रामा सदभाव, साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहक, सेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
संस्थाले ठूलो संख्यामा ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधासहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिँदै अघि बढिरहेको छ ।
FACEBOOK COMMENTS