काठमाडौं । कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तिकरण गर्न भिडिओ श्रृङ्खला र पुस्तक एकैसाथ सार्वजनिक गरेको छ ।
हिजो बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल तथा वरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले बिहीबार आफ्नो वित्तीय साक्षरता भिडिओ श्रृङ्खला र पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो ।
बैंकिङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडिओ श्रृङ्खलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ्ग सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको छ । बैंकले भिडिओ श्रृङ्खला र पुस्तकमार्फत बैंकिङ्ग सेवाको प्रयोग, व्यवसाय सुरू र सञ्चालन गर्ने प्रकृया, बैंकिङ्ग सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको छ ।
उक्त भिडिओ श्रृङ्खला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायहरूलाई पनि ठुलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरूले लाभ उठाउन सक्ने बैंकको विश्वास छ । भिडिओ श्रृङ्खलामा दीपाश्री निरौला, दमन रूपाखेती, शिवशंकर रिजाल लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ भने उनीहरूको संलग्नताले ‘वित्तीय साक्षरता अभियान’ रचनात्मक बनाएको छ ।
उक्त कार्यक्रममा सीईओ खनालले वित्तीय साक्षरता र उद्यमशीलतालाई बढावा दिन कुमारी बैंकले सो कदम चालेको बताए । पुस्तक र भिडिओ श्रृङ्खलाले व्यक्तिहरूलाई, विशेष गरी नव उद्यमीहरू, साना व्यवसायी आदिलाई शिक्षित र सशक्तिकरण गर्न टेवा पुर्याउने छ भन्ने उनको आशय थियो । उनले यो भिडियो श्रृङ्खला र पुस्तक कुमारी बैंकको सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने पनि उनले बताए ।
विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ वटा शाखा सञ्जाल, ३१५ वटा एटीएम, ५१ व्टा एक्सटेन्सन काउन्टर तथा ६५ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS