सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ ।
आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब ७९० मिटर मात्र खन्न बाँकी छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चन्द्रबहादुर ओलीलगायतको टोलीले आज सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटारमा रहेको आयोजनास्थलमा निरीक्षण गरेका थिए ।
निरीक्षण अवलोकनपछि ऊर्जामन्त्री बस्नेतले तोकिएको समयभित्र काम सम्पन्न गर्न आयोजनाका लागि स्रोत साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि ऊर्जामन्त्री बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजनास्थल नछाड्न र हरेक १५ दिनमा आयोजनाको प्रगति अवस्थाबारे मन्त्रालयलाई जानकारी दिन निर्देशन दिएका थिए ।
तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रु’ भइसक्ने आयोजना प्रमुख बरालले जानकारी दिए ।
आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरिरहेको छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इन्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको उक्त आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । सो आयोजनाको ‘कफर ड्याम’ निर्माण भइरहेको जनाइएको छ ।
FACEBOOK COMMENTS