काठमाडौं । नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल वायुसेवाले निगमले २ वटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस प्रकरणमा तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक तथा सन्चालक समिति सदस्य सुगतरत्न कंसकार, तत्कालीन पर्यटन सचिव तथा सन्चालक समिति सदस्य शंकरप्रसाद अधिकारी, भन्सार विभागका तत्कालिन महानिर्देशक तथा सञ्चालक समिति सदस्य शिशिर ढुंगाना, मन्त्रालयका तत्कालीन सहसचिव तथा सञ्चालक समिति सदस्य बुद्धिसागर लामिछाने, सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पान्डे पनि प्रतिवादी बनेका छन् ।
त्यस्तै, नेपाल वायु सेवा निगमका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन, तत्कालीन कामु निर्देशक रविन्द्र श्रेष्ठ, तत्कालीन कामु निर्देशक र हालका निर्देशक उपेन्द्र पौडेल, तत्कालीन उपनिर्देशक तथा हालका निर्देशक श्रवण रिजाल, तत्कालीन निमित्त उपनिर्देशक पारष पौडेल, तत्कालीन निमित्त उपनिर्देशक तथा हालका निर्देशक उमेश पौडेल र तत्कालीन उपनिर्देशक र हाल उपनिर्देशक बृहतमान तुलाधारलाई पनि प्रतिवादी बनाइएको छ ।
सम्पत्ति शुद्धीकरण विभागका तत्कालीन महानिर्देशक तथा सञ्चालक समिति सदस्य जीवनप्रकाश सिटौला, तत्कालीन सन्चालक समिति सदस्य तथा हाल नागरिक उड्डयन प्राधिकरणका सन्चालक समिति सदस्य रहेका अच्युतराज पहाडी, नेपाल बायु सेवा निगमका तत्कालीन कामु निर्देशक रामहरी शर्मा सेढाई, तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक रहेका जनकराज कालाखेती र तत्कालीन उपनिर्देशक प्रभासकुमार कर्माचार्य, तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन निमित्त निर्देशक तथा हाल वरिष्ठ क्याप्टेन रहेका सुबास रिजाललाई पनि प्रतिवादी बनाइएको छ ।
अख्तियारले यस प्रकरणमा गत मंसिरमा सार्वजनिक सूचना नै जारी गरेर जहाजर खरिद प्रकरणमा संलग्न तीनवटा विदेशी कम्पनीका सञ्चालक र प्रतिनिधिलाई बयानका लागि बोलाएको थियो।
FACEBOOK COMMENTS