काठमाडौं । अघिल्लो बर्षको फागुनको तुलनामा चालु आर्थिक बर्षको फागुन महिनामा मुद्रास्फीति (महँगी) दर घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार गत आर्थिक बर्षको फागुन महिनाको तुलनामा चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा मुद्रास्फीति दर घटेको हो ।
अघिल्लो बर्षको आठ महिनाको तुलनामा मुद्रास्फीति दर झरेर चालु आर्थिक बर्षमा ४.८२ प्रतिशतमा पुगेको छ । गत आर्थिक बर्षको फागुन मसान्तसम्म यसको दर दर ७.४४ प्रतिशतमा पुगेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।
समीक्षा अवधीमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ ।
घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको छ ।
तथ्यांकअनुसार समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ ।
यस्तै यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको छ ।
२०८० फागुन महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको पाइएको छ ।
अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.९५ प्रतिशत, ७.५० प्रतिशत, ६.६७ प्रतिशत र ८.०७ प्रतिशत रहेको थियो ।
FACEBOOK COMMENTS