काठमाडौ । धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १९ जनाबाट ५ जनाको सर्ट लिस्ट तयार भएको छ ।
बोर्डको अध्यक्षका लागि आवेदन दिएका १९ जनाबाट सर्ट लिस्टमा नेप्सेका सीईओ कृष्ण बहादुर कार्की, चिरन्जीवी चापागाई धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी मुक्तीनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ रहेका छन् ।
अध्यक्षका लागि चिरन्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा नवराज अधिकारी, डा गोपाल प्रसाद भट्ट, निरज गिरी, डा केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, डा रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सुर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा बीमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्ण बहादुर कार्कीले आवेदन दिएका छन् ।
अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट ५ जनाको नाम तयार पारिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ ।
अध्यक्ष नियुक्तिका लागि सरकारले माघ पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिको सदस्यमा अर्थसचिव कृष्णहरी कर्ण र विज्ञ सदस्य शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला रहेका छन् ।
गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिएका थिए । आवेदन दिने मध्येबाट अर्थ मन्त्रालयले ५ जनाको अन्तर्वार्ता लिने र त्यसबाट ३ जना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषदमा लैजाने छ ।
मन्त्रिपरिषदले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।
बोर्डको अध्यक्षमा दरखास्त दिनका लागि कुनै राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहेको वा बोर्डसँग निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजू बाँकी नरहेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।
FACEBOOK COMMENTS