काठमाडौं,फागुन ३० – कोरोना भाइरस (कोभिड १९) का कारण भारतमा एकजनाको मृत्यु भएको छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएको बीबीसीले जनाएको छ । उनी हालै साउदीबाट भारत फर्केका थिए ।
केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदीअरबबाट फर्केपछि स्वास फेर्न अप्ठ्यारो, खोकी र निमोनियकोल लक्षण देखिएपछि मार्च ६ मा एक डाक्टरले उनको घरमा नै उपचार गरेका थिए ।
तर स्वास्थ्य लगातार बिग्रेपछि मार्च ९ मा उनी कलबुर्गीमा एक निजी अस्पतालमा भर्ना भए । अस्पतालको प्रराम्भिक जाँचमा उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरियो ।
त्यसपछि विस्तृत जाँचका लागि बेंग्लोरको ल्यावमा परीक्षण भयो । जाँचको रिपोर्ट आउनु अगाबै उनलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरियो । त्यसपछि मार्च १० मा उपचारकै क्रममा उनको मृत्यु भयो । भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।
यसैबीच इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । इटलीमा १५ हजार एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।
भाइरसको उद्गमस्थल चीनले नयाँ सङ्क्रमण रोकिने क्रममा पुगेको भन्दै माहामारी नियन्त्रण भएको बताइरहँदा इरान, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्याण्ड, स्विडेन, डेनमार्क, अस्ट्रेलियालगायत देशमा भने सङ्क्रमण फैलिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।
अहिलेसम्म विश्वका एक सय २६ देशमा फैलिएको कोरोना भाइरसबाट एक लाख ३४ हजार पाँच सय १९ जनामा सङ्क्रमण भएको छ । जसमध्ये झण्डै ६९ हजार जना निको भएर घर फर्किएका छन् । चार हजार ९ सय ७० जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
FACEBOOK COMMENTS