काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का सहायक प्रबन्धक निरञ्जन फुयाँलले दोश्रो बजारमा अफ मार्केट ट्रान्जिक्सनको व्यवस्था हुनुपर्ने बताएका छन् ।
बिहीबार एक कार्यक्रममा बोल्दै उनले इमर्जेन्सीअवस्थामा सेयर बेच्नको लागि उक्त व्यवस्था हुनुपर्ने बताएका हुन् ।
उनले भने, ‘ब्रोकरले तीन दिनपछि मात्रै पैसा दिन्छ । तर मलाई अहिले नै पैसा आवश्यक परेको छ । म सँग सेयर छ । राती सेयर बेच्नु परे के गर्ने? त्यसका लागि अफ मार्केट ट्रान्जिक्सन हुनुपर्छ ।’
पुँजी बजारमा लगानी गर्दा देशको आर्थिक अवस्था, कम्पनी र उद्योगको विश्लेषण गर्नुपर्ने उनको भनाई छ ।
उनका अनुसार एउटै किसिमको पीई रेसियो कायम गर्न सके राम्रो मानिने र कम पीई रेसियो भएका कम्पनीको सेयर किन्दा जोखिम कम हुन्छ । तर वाणिज्य बैंकको सबैभन्दा कम पीई रेसियो भएपनि लगानीकर्ताले लगानी गरेको नपाइएको उनले भने ।
त्यस्तै, नीति नियम, टेक्निकल र सूचना प्रभावकारी हुँदा पुँजी बजारले सकारात्मक दिशा लिने बताउँदै उनले बजारमा प्रवेश गर्दा सकेसम्म न्यूनतम शुल्कमा प्रवेश हुनुपर्ने बताए ।
FACEBOOK COMMENTS