देशभर छरिएका कुटिर, घरेलु, साना तथा ठूला उद्योगी व्यवसायीहरूको वस्तु तथा सेवाको उत्पादन र व्यापार व्यवसायलाई ‘डिजिटल बजारतर्फ नेपाली उत्पादनको विश्वव्यापीकरण’ नारा साथ यस संघबाट सुरू गर्न लागेको पहिलो प्रयास ‘एनसीआईसीके डिजिटल एक्स्पो, २०८१’ को उद्घाटन समारोहमा हाम्रो निमन्त्रणालाई स्वीकार गर्नुभइ आफ्नो व्यस्तताबीच यस कार्यक्रमलाई महत्व प्रदान गर्नुभई प्रमुख अतिथिको आतिथ्य ग्रहण गरिदिनुहुने सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय रेखा शर्माज्यूमा कृतज्ञताका साथ सम्पूर्ण निजी क्षेत्रको तर्फबाट हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु । साथै यहाँको गरिमामय उपस्थितिका लागि आभार व्यक्त गर्दछौँ ।
सम्पूर्ण उपस्थित आदरणीय व्यक्तित्वहरू व्यावसायिक संस्थामा आफ्नो वर्गको निःस्वार्थ सेवाभावबाट प्रेरित नेतृत्वकर्ता, पदाधिकारीज्यूहरू, उद्योगी, व्यवसायी, डिजिटल माध्यमबाट भाग लिनुहुने प्रदर्शनकर्ता र अतिथि वर्ग एवम् सञ्चारकर्मी मित्रहरूमा हार्दिक स्वागत गर्न चाहन्छु । तपाइँहरूको उपस्थितिले हाम्रो यो प्रथम प्रयासको सफलताका लागि ठूलो हौसला र प्रेरणा प्राप्त भएको छ । साथै, तपाइँहरूको गौरवपूर्ण उपस्थितिले हामीलाई अझ बढी उत्साहका साथ व्यवसायीहरूको हितका लागि निःस्वार्थ लागिपर्ने ऊर्जा पनि प्रदान गरेको छ ।
विगतमा नेपालको भौगोलिक बनावटका कारण कुनै पनि नवीनतम् सञ्चार प्रविधि परीक्षणका लागि नेपालको भू–बनावट उपयुक्त हुने भएकाले दक्षिण एशियामै नेपालको सञ्चार प्रविधि उच्च प्रविधिको र सुरूदेखिकै चरणमै हाम्रो पहुँच रहने गरेको अवस्था थियो । गत केही दशकभित्र सूचना र सञ्चार प्रविधिमा भएको उच्च विकास र डिजिटल प्रविधिका कारण नेपाल जस्तो अल्पविकसित मुलुकका जनताहरूको प्रविधिमा पहुँच कठिन र खर्चालु भइ ढिलो मात्र पहँुच पुगिरहेको महसुश हामीले गरेका छौँ । यसले विश्व समाजमा प्रविधिमा पहुँचका हिसाबले विभेदको अवस्था बढ्दै गएको यथार्थता प्रस्तुत गरेको छ । यो विभेद कम गर्नु समाजको आवश्यकता भएको छ । सूचना र सञ्चार प्रविधिमा पँहुच सहज नभएका कारण साना–साना व्यवसायी रोजगारबाट विस्थापित हुनुपर्ने बाध्यता नहोस् भनी यस संघले एउटा यो सानो प्रयासको थालनी गरेको हो । यसबाट हामीले के साना, के ठूला सबै काम गरी स्वरोजगार भइ, गरिखाने वर्गलाई लाभ हुने विश्वास लिएका छौँ । अब देशको जातीय विभेद भन्दा हाम्रो विकासमा प्रविधिको विभेद र असमानताका लागि काम गर्न जरुरी भएको छ । सबैको सहज र सरल प्रविधिमा पहुँचका लागि सरकारसँग मिलेर यो संघ कार्य गर्न तयार रहेको व्यहोरा अनुरोध छ । हामीले बिनाकुनै विभेद सबैको वस्तु सेवाको प्रवर्द्धनका लागि यसमा समान स्थान दिएका छौं । महासंघले विगतमा कृषिका लागि प्रत्येक जिल्ला एक वस्तुका लागि विशिष्टीकरण गर्ने गरी गरेको विकास र योगदानलाई दिगो बनाउन हामीले सो वस्तुलाई निःशुल्क सूचीकृत गरेका छौं ।
के घरेलु, के कुटिर र साना–साना उद्योगसहित मध्यम र ठूला उद्योगहरू समेतले आफ्नो वस्तु र सेवाको लागत कम गरी उत्पादन गर्ने चुनौती छ भने भौतिक रूपमा ग्राहकको सम्पर्क टुटेर व्यापारलाई क्रमिकता दिन नसकेको अवस्था छ । अतः देशभरका उद्योगी व्यवसायी सबैको सहज र सरल प्रविधिमा पहुँच दिलाई वस्तु र सेवाबारे आम उपभोक्तालाई आफ्नो फुर्सदमा प्रविधिका माध्यमबाट कुनै पनि समय जानकारी लिन, कारोबार गर्नसम्म सक्ने गरी सहयोगीको भूमिका प्रदान गर्न यो एक्स्पो आयोजना गरेका हौँ ।
अब कसैले नेपाल सानो देश, यहाँ केही हुँदैन नभनौँ । दुई ठूला देशका बीचमा रहेकाले यो सानो देखिएको मात्र हो । विश्वका अरु १०० वटा देश हामी भन्दा साना छन् । एशियाको ०.३% र विश्वको ०.०३% भूमी मात्र ओगटे पनि, भूपरिवेष्ठित रहे पनि हामी प्रविधिबाट बञ्चित बन्न कसैले रोक्न सक्दैन भन्ने प्रमाणित गर्न सबैको प्रयास जरुरी छ । यो हाम्रो पहिलो सानो कदम ‘एनसीआईसीके भर्चुअल एक्स्पो २०८१’ मार्पmत नेपाली उद्यमीहरूले भोग्दै आएको डिजिटल विभाजन र डिजिटल असमानतालाई कम गर्न सहयोगी बन्ने आशा छ । आफ्नो उत्पादनबारे बिक्रेता, उपभोक्तामा जानकारी दिई अन्तिम कारोबारसम्म गर्न सक्नेगरी अनलाइन सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । राज्यले यसका लागि देशभर अनलाइन इन्टनेटको सहज, सरल र सुलभ गुणस्तरीय सेवा उपलब्ध हुनेमा विश्वस्त बनाउन जरुरी छ । आगामी दिनमा यसलाई अझ बढी परिस्कृत र व्यापक बनाएर लैजान हामीले देशका तीन वटै तहका सरकारहरूको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।
प्रविधिको विकासका कारण मानिसको आचरण र बानीव्यहोरामा परिवर्तन आएको छ । अब भौतिक रूपमा पसलमा उपस्थित नभइकन नै वस्तु र सेवा खरिद गरी उपयोग गर्नेको सङ्ख्या बढ्दो छ । आफ्नो नाउँमा एउटा कोठा नबनाई पर्यटकहरूका लागि सबभन्दा बदी होटेल बिक्री गर्ने, पर्यटन व्यवसाय गर्ने, भ्रमण व्यवस्था मिलाउने र यसरी भ्रमण गर्नेहरूको सङ्ख्या बढ्दो छ । कुनै किचेन (भान्सा घर) नभइकनै खाना बिक्री गरी धेरैले काम गरिरहेका छन् । यसले साना पर्यटन व्यवसायीहरू विस्थापितको खतरामा परिसकेका छन् । तर, हामीकहाँ सरकार हवाई टिकट र ढुवानीमा मूल्य अभिवृद्धि कर लगाई असुल गर्ने कानुन बनाई बसेका छन् । सबै व्यवसायी प्रविधिको विकासको गतीसँग जान सक्नुपर्दछ । विश्व व्यापार व्यवसायमा सूचना प्रविधिमार्पmत अनलाइन खरिद बिक्री गर्नेको सङ्ख्या बढ्दो छ । आन्तरिक मात्र होइन अन्तर्राष्ट्रिय व्यापार पनि यसैतर्पm आकर्षित छ । तर, हालै अनलाइन व्यवसाय गर्न तयार भएको ऐन साना व्यवसायीहरूको पक्षमा नरहेको कुरा सुन्नमा आएको छ । आजसम्म बन्ने सबै कानुन प्रोत्साहन होइन नियमन गर्ने, केही लिन–दिन सङ्कुचित स्वार्थबाट नियमन गर्ने, जरिवाना र जेल सजाय दिने कानुन बन्ने र लागू हुने हुँदै आएको छ । सबै अर्थ व्यवस्थासँग सम्बन्धित कानुन निर्माणपूर्व सरोकारवालासँग सल्लाह गरेर मात्र निर्माण गर्न माग गर्दछौँ । साथै, राज्यले हामी सेवाग्राहीलाइ दिने सेवा, दर्ता सञ्चालन प्रमाणपत्र, डिजिटल सिग्नेचरमार्फत स्वचालित प्रविधियुक्त, बिनामानव अनलाइन प्रदान गरियोस् भन्न चाहान्छौँ ।
सरकार प्रमुखबाट निजी क्षेत्रप्रति व्यक्त अभिव्यक्तिहरूबाट हामीलाई केही खुसी केही आनन्द लाग्दछ । तर, हाम्रो समस्या के छ भनी समाधान गर्नु भन्दा, व्यापार व्यवसाय प्रवर्द्धन गर्ने स्थिर निति, सहयोग र छुट सुविधा भन्दा, हुर्किन र बढ्न भन्दा कानुन बनाइ जेल र २०० देखि ५०० प्रतिशत जरिवाना, ६० प्रतिशतसम्म ब्याज असुल, गर्ने व्यवस्थाहरूले हामीलाइ हतोत्सायी बनाएको छ । विद्वत नागरिक समाजदेखि अधिकांश व्यक्तित्वहरू स्वदेशी नागरिकले कमाएकोमा इर्ष्या गर्नेछन् । कसैले कमाएकोमा रमाउन नसके पनि दुःखी किन बन्ने ।
हामीले गरेको व्यवसाय आफ्नो कारण नभइ अन्य बाह्य कारणले समस्या भए बैंकको ब्याज, कर्मचारी बक्यौता, राजस्व सबै घरघरानाबाट तिनुपर्ने कानुन बन्छ । ६०% ब्याजसम्म लिन्छ । आज उद्योगको योगदान १४% बाट घटेर ५% हुन्छ, धान चामल निर्यात गर्ने कृषिप्रधान देश सबभन्दा बढी कृषि उत्पादन आयात गर्ने देश भएको छ । मुलुकका लागि के सामान कति चाहिने तथ्याङ्क आपूर्ति मन्त्रालयसँग छैन । ती निकाय जिम्मेवार नबनेको कारण सुबिधा नपाउने भए के हुन्छ । आज ती निकाय जो उद्योग व्यवसायको प्रवर्द्धन गर्नुपर्नेहरू अनुगमन गर्दै, जरिवाना र जेलको सजाय दिन व्यस्त छन् । कसरी बन्छ देश । जो काम गरी कमाएर कर राजस्व बुझाउँछु भन्छ उसैमाथि राज्यबाट तनाव र आतङ्क छ । जो बढी कमाउँछ, उसले आयमा सबभन्दा बढी कर तिर्नुपर्छ । झन्झट र झमेला खप्नुपर्छ । लोभको कारण बढी काम गर्ने हो । काम नगरी, चुप बसी बैंकमा पैसा राखी बसे आम्दानीको ६% तर २० लाख कमायो ४०% कर यो अन्याय हो ।
नेपालमा लगानी गर्ने महाभारतको अभिमन्यूसरह छ । दर्ता गर्न, काम गर्न दश निकाय धायो । काम बन्यो, सबै वर्ग मनले, डरले, लिनेहरूको लर्को, काम बिग्रियो, सोध्ने खोज्ने कोही छैन । त्यो पनि यो देशको नागरिक हो, उसको लगानी राष्ट्रको लगानी हो । राजस्व लिएर दर्ता गर्ने निकायले हेरचार पनि गरिदिए कति सुन्दर देश निर्माण हुने थियो । यहाँ उद्योग, व्यवसाय गर्यो चक्रब्यूहसरी निस्कने बाटो छैन । पस्यो कि फस्यो ।
लगानी सम्मेलन हुँदैछ । अध्यादेशबाट नौ वटा कानुन संशोधन मात्र पर्याप्त छैन । गिरेको अर्थतन्त्र चलायमान बनाउन तीव्र गतीमा थूप्रै काम गर्नुपर्नेछ । स्थिर नीति, स्पष्ट नियम कानुन, काम गरिखानेलाई प्रोत्साहन र सहुलियत आजको जरुरी हो । हामी सरकारसँग मिलेर काम गरिखान तयार छौँ भने सरकारबाट पनि हामीलाई मित्रवत व्यवहार गरी हामीसँग सरोकार रहेका नीति, नियम तथा कानुनहरू बनाउँदा हाम्रो पनि सहभागिता गराइयोस् । हामी अमुक कुरा होइन, राम्रो गर्छौँ, सँगै लान्छु मात्र होइन, यसरी सँगै व्यवहारमा काम गर्न चाहन्छौँ ।
अन्तमा पुनः यो कार्यक्रम सफल पार्न दिनरात खट्नुहुने सबै मित्रहरू, सफ्टवयेरमा काम गर्ने भाइहरू, सहयोगी मित्रहरू र प्रदर्शक, सूचीकृत उद्योगी व्यवसायीहरूलाइ आभारसहित सबैमा स्वागत गर्न चाहन्छु । सबैको जय होस्, सबैको भलो होस् । सरकारको आगामी योजना र बजेटले सबैको मुहारमा खुसी छाओस् ।
(नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले खाजदेखि सुरू गरेको ‘एनसीआईसीके डिजिटल एक्स्पो, २०८१’ को उद्घाटन समारोहमा संघका अध्यक्ष श्रेष्ठले व्यक्त गरेको मन्तव्य ।)
एनसीआईसीके डिजिटल एक्सपो सुरू, देशभरका उद्योगी–व्यवसायीको सहभागिता
सूचना प्रविधि सहज नहुँदा साना–साना व्यवसाय फस्टाउन सकेनन् : अध्यक्ष दिनेश श्रेष्ठ
‘भी-एक्स्पो’ एकैपटक लाखौँ व्यवसायीमाझ पुग्ने एकमात्र माध्यम हो
भ्रष्टाचार कम गर्न अर्थतन्त्र डिजिटल रूपमा जानुपर्छः उपाध्यक्ष ढकाल
घरबाट चलेको अनलाइन विजनेस कम गर्ने नीति नियम ल्याउनुपर्छः उपाध्यक्ष बैधे
FACEBOOK COMMENTS