गाजा । गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आज विशेष बैठकको आह्वान गरिएको छ ।
विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरू हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् ।
साउदी अरबका योजनामन्त्री फैजल अल–इब्राहिमले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘विश्व अहिले सुरक्षा र समृद्धिलाई सन्तुलित बनाउने प्रयासमा छ ।’
‘हामी यस्तो क्षणमा भेट्छौं जब एक गलत निर्णय वा एक गलत अनुमान वा एक गलत सञ्चारले हाम्रो चुनौतीलाई अझ बढाउनेछ ।’
एएफपीले इजरायली आधिकारिक तथ्याङ्कको आँकडाअनुसार अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट सुरु भएको गाजा युद्धका कारण करिब एक हजार १७० व्यक्तिको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए ।
आक्रमणका क्रममा गत अक्टोबर ७ मा लडाकुहरूले कब्जामा लिएका १२९ जना बन्धकहरू अझै गाजामा रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ ।
बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् ।
उक्त अवसरमा फ्रान्स, जर्मनी, बेलायत र युरोपेली सङ्घका विदेशमन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहेको ब्रेन्डेले शनिबार जानकारी दिए ।
सम्मेलनमा वासिङ्टनका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने अपेक्षा गरिएको आयोजक साउदी अरबले जनाएको छ ।
विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले शनिबार रियादमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन चीन भ्रमणपछि इजरायल जाने क्रममा साउदी अरबमा पुग्नुहुने कार्यक्रम तय भएको बताए ।
उनले भने, ‘ गाजामा हामीले सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकहरूबारे केन्द्रित वार्तामा अब केही नयाँ गति आएको छ । सम्मेलनमा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षहरूमा पनि छलफल हुने भएकोले यो धेरै परिणामी बैठक बन्ने सबै सम्भावना छन् ।’
हमासले गाजामा सम्भावित युद्धविरामका सम्बन्धमा इजरायलको पछिल्लो प्रति प्रस्तावबारे शनिबार अध्ययन गरिरहेको बताएको छ भने सञ्चार रिपोर्ट अनुसार वार्ताको मध्यस्थता गरिरहेको इजिप्टको एक प्रतिनिधिमण्डल अवरुद्ध वार्ता सुरु गर्न इजरायल पुगेको उल्लेख गरिएको छ ।
साउदी अरबले इजरायललाई कहिल्यै मान्यता दिएको छैन तर अक्टोबर ७ मा भएको आक्रमणअघि नै इजरायललाई मान्यता दिनेबारे विचार गरिरहेको छ । रियाद र वासिङ्टनले आफ्नो सुरक्षा साझेदारीलाई अझ मजबुत बनाउने सम्झौतामा वार्ता जारी छ ।
साउदी अधिकारीहरूले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको महत्त्वाकाङ्क्षी दृष्टिकोण सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पु¥याउन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS