काठमाडौं । नेपालमा चिनियाँ गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । चिनिया कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।
चिनियाँ कम्पनी सेमन गोल्डेन ड्रागन अटो बडीसँग कोशी एनके मोटर्स प्रालिले लगानी सम्मेलनकै क्रममा सम्झौता भएको छ । चीनको फुजियन प्रान्तमा रहेको सेमन गोल्डेन ड्रागन अटो बडी र कोशी एनके मोटर्सबीच ४ पाङ्ग्रे विद्युतीय गाडी नेपालमा उत्पादन गर्ने सम्झौता भएको हो । दुई कम्पनीले यसका लागि पहिलो चरणमा ३ अर्ब लगानी गर्नेछन् ।
कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीका अनुसार एक वर्षभित्र विराटनगरमा ४ पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । चिनियाँ र कोरियन प्रविधिमा आधारित ४ पाङ्ग्रे विद्युतीय सवारी उत्पादन गरिने उनको भनाइ छ ।
विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढीगंगामा १५ विघा जमिन खरिद गरिएको छ ।
FACEBOOK COMMENTS