काठमाडौं । ‘स्वर्गकी रानी’को उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।
काठमाडौंमा आयोजना भइरहेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार ‘रारा रिसोर्ट’को लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स प्रालिका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका छन् ।
मुगुको छायानाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुने रारा होल्डिङ्स प्रालिका शाहले जानकारी दिए । उनले आयोजनामा दोस्रो चरणमा थप ४० करोड रुपैयाँ लगानी हुने बताए । पहिलो र दोस्रो चरणमा गरी एक अर्ब १० करोड रुपैयाँ लगानीमा उक्त रिसोर्ट सञ्चालनमा आउने छ ।
रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने उनको भनाइ छ । रिसोर्टमा सुइट ब्लक, डिलक्स ब्लक, स्ट्यान्डर्ड ब्लक र मेन ब्लक गरी चार प्रकारका भिल्लाहरू निर्माण गरिनेछ ।
रिसोर्टमा एट्याच बाथरुमसहितका ६० कोठा हुनेछन्, जसमध्ये पहिलो चरणमा ४० वटा कोठा तयार गरिने शाहले बताए । यस्तै, रेस्टुरेन्ट, मिटिङ हल, साउना, स्टिम, जिम हललगायत लक्जरी रिसोर्टमा हुने सम्पूर्ण सुविधा उपलब्ध हुने बताइएको छ ।
समुद्र सतहदेखि ३७ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकनसमेत गर्न सकिनेछ । प्रकृतिप्रेमी खर्चालु पर्यटकलाई लक्षित गरेर रिसोर्ट निर्माण थालेको शाहको भनाई छ ।
‘यो कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुनेछ, परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रक्रिया लगभग अन्तिम चरणमा पुगेका छन्,’ शाहले भने, ‘यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रक्रियालाई तीव्रता दिनेछौँ र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’
यो रिसोर्टले रारामा लक्जरी रिसोर्टको अभावसमेत पूरा गर्ने अपेक्षा गरिएको छ ।
एक्सपर्ट ग्रुपको अस्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत् क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।
FACEBOOK COMMENTS