काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवा तथा खेलकुदमन्त्री बनेका विराजभक्त श्रेष्ठले आफूहरू राजीनामा पत्र खल्तीमा बोकेर हिँडिरहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आज शनिबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी रास्वपा जुनसुकै बेला पनि सरकारबाट बाहिर आउन तयार भएको बताउँदै राजनीनामा पत्र खल्तीमा बोकेर हिँडिरहेको बताएका हुन् ।
‘हामी दुई धारे तरबारका बीचमा चलिरहेका छौँ । केही चिजमा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै किसिमको सम्झौता गर्नुपर्यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ,’ उनले भने ।
अनधिकृत हिसाबले कुनै किसिमको सम्झौतामा प्रधानमन्त्रीले सहभागी गराउन खोजे रास्वपा जुनसुकै बेला पनि सरकारबाट बाहिर आउन तयार भएको उनको भनाइ छ । सरकार पुरातन शैली र कर्मकाण्डी हिसाबमै चलेकाले सरकारमा रहिरहने मनस्थितिमा रास्वपा नरहेको सङ्केत समेत उनले गरेका छन् ।
के भन्छन् समाभापति रवि लामिछाने ?
सोही कार्यक्रममा सहभागी सो पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भने विराजभक्तले खुलासा गरेको विषयमा केही पनि बताएनन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई जनता केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गर्दै पार्टीलाई जनता केन्द्रित तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरे ।
साथै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिँदै संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्न सबै तहका नेता तथा कार्यकर्तालाई अनुरोध गरे ।
कार्यक्रममा पार्टीका उपभापति डा स्वर्णीम वाग्ललेले पार्टीको जलेश्वर बैठकबाट यसको नीतिगत प्रस्थानविन्दु बनेको बताए भने पार्टीका महामन्त्री मुकुल ढकालले सङ्गठन विस्तारमा जोड दिएका छन् ।
FACEBOOK COMMENTS