काठमाडौँ — जिल्ला अदालत काठमाडौंले विभिन्न सातवटा आधार र कारण औल्याउँदै पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयासको आरोपबाट सफाई दिसकेको छ ।
यो संगै महराको फैसलाको पुर्ण पाठ तैयार भएको छ ।
के-के छन् सफाइका आधार?
–अनुसन्धानका दौरान अनि अदालतमा पीडितको इन्कारी बयान
–जाहेरी खण्डन हुनेगरी अनुसन्धानका क्रममा दिएको निवेदन
–पीडितले बकपत्रमा महरा आफ्नो कोठामा नआएको बताएको
–गिलास र चस्माको औंठाछाप भिडान हुन नसकेको
–तीनकुने गए पनि रक्सी नबोकेको र सेवन नगरेको बयान
–मादक पदार्थ सेवन गरी पीडितले प्रहरीमा उजुरी गरेको
न्यायाधीश अम्बरराज पौडेलको इजलासले तयार पारेको फैसलामा कुनै पनि आधार र दृष्टिकोणबाट हेर्दा महरालाई दोषी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको उल्लेख छ।
जिल्ला अदालतले तयार पारेको फैसलामा विभिन्न सात कारण र आधारहरुको विश्लेषण गरेर महरा निर्दोष रहेको ठहर गरिएको छ। पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दासमेत आफूमाथि बलात्कारको प्रयासको आरोप खण्डन गरेको, अनुसन्धानका क्रममा नै उनले इन्कारी निवेदन दिएको, बकपत्रमा महरा आफ्नो कोठामा नआएको भनी लेखाएको लगायतका कारणहरुको विश्लेषण गर्दै महरा दोषी हुन नसक्ने फैसला छ।
‘कृष्णबहादुर महरा पीडितको डेरा कोठामा गई रक्सी सेवन गरी हातपात गरी पीडितउपर जबजर्जस्ती करणीको उद्योग गरेका हुन् भनी बिनाआधार कसूर कायम गर्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ, ।’ जिल्ला अदालत काठमाडौंको फैसलामा महराले सफाई पाउनुमा विभिन्न सातवटा आधारहरु उल्लेख छ।
पीडितले अनुसन्धानका क्रममा अनि पछि जिल्ला अदालतमा समेत बकपत्र गर्दा महराले आफूमाथि बलात्कारको प्रयास नगरेको बताएकी थिइन्। जिल्ला अदालतले उनको भनाइलाई महत्वपूर्ण आधार मान्दै बलात्कारको प्रयास ठम्याउन नसकिने जनाएको हो।
‘एउटा वयस्क उमेरको महिलाले अदालतमा आई आफूले दिएको जाहेरीको बेहोरालाई पूर्णत खण्डन गरी प्रतिवादी निर्दोष रहेको भनी लेखाएको व्यहोरालाई अदालतले अन्यथा भन्न मिल्ने ठाउँ रहँदैन’ फैसलामा भनिएको छ, ‘बलात्कारका मुद्दामा प्रत्यक्ष साक्षी भनेको केवल पीडित महिला नै हो। त्यस्तो महिलाले अदालतमा स्वतन्त्ररुपमा बकपत्र गर्दा लेखाएको विषयमा न्याय निरुपण गर्ने महत्वपूर्ण प्रमाण हुन्छ।’
सुरुमा प्रहरीमा पूर्वसभामुख महराविरुद्ध किटानी जाहेरी दिएकी पीडितले पछि भने आफूमाथि बलात्कारको प्रयास नभएको बरु प्रहरीले दबाबमा आफूलाई जाहेरी लेख्न लगाएको बयान दिएकी थिइन्। उनले अनुसन्धानकै दौरान प्रहरीमा निवेदन दिँदै आफ्नो कोठामा महरा नआएको र बलात्कार प्रयास पनि नगरेकाले छानबिन अघि नबढाउन भन्दै निवेदन दिएकी थिइन्। जिल्ला अदालतले उनको निवेदनलाई समेत प्रमाण मान्दै त्यसले पनि महराले बलात्कारको प्रयास गरेको पुष्टि नहुने फैसला गरेको हो।
जिल्ला अदालतले अनुसन्धानकै क्रममा पीडितले आफूमाथिको कसुर इन्कार गरेकाले त्यसलाई मान्यता दिनुपर्ने फैसला गरेको छ। अदालतमा आएर बयान फेरेको (होस्टाइल) नभई पीडित स्वयंले मुद्दाको अनुसन्धानको चरणदेखि नै प्रतिवादी निर्दोष रहेको, वारदात मितिमा प्रतिवादी आफ्नो डेरा कोठामा नआएको र मउपर प्रतिवादीबाट कुनै कसुर नै नभएकोले अनुसन्धानका क्रममा हिरासतमा राख्दासमेत म्याद थप्न हुँदैन भनेको भन्दै त्यस्तो अवस्थामा महरालाई दोषी ठहर गर्न नहुने उल्लेख छ।
महराका सुरक्षाकर्मीहरुले बयानका क्रममा उनी बालुवटारदेखि गाडी लिएर तीनकुने आएको र ‘यही बस्नु×’ भनेर आफूमात्रै कतै गएको बताएका थिए। तर, फैसलामा तीनकुने आएको भए पनि रक्सी सेवन गरेको अनि रक्सी बोकेर पीडितको कोठामा गएको भनी सुरक्षाकर्मीले नभनेका कारण उनीमाथिको आरोप सही नहुने फैसलामा राय छ।
महानगरिय प्रहरी वृत्त नयाँ बानेश्वारका डीएसपी दुर्गाराज रेग्मीको प्रतिवेदनमा ‘प्रहरी कन्ट्रोलबाट आएको सूचनाअनुसार पीडितको घरमा जाँदा महराले आफूले मदिरा सेवन गरी जबर्जस्ती सेवन गर्न लगाई करणी गर्ने प्रयाससमेत गरेकाले प्रतिकार गरेर चिच्याउने चेतावनी दिएपछि भागी गएको’ भनी लेखाइकी थिइन्। पछि उनले घटनाको उजुरी गर्न जाउँ भन्दा श्रीमान् काम विशेषले बाहिर गएकाले मानिन् अनि घटनास्थल मुचुल्कामा मात्रै सही गरिन्।
बयानका क्रममा संसद् सचिवालयकी ती कर्मचारीले आफूले नियमित रुपमा डिप्रेसनको औषधि खाएको, औषधि खाएपछि आफैं अचेत भई पहिले पनि विभिन्न व्यक्तिलाई फोन गर्ने गरेको बताउँदै त्यो दिन पनि कांग्रेस सांसद उमा रेग्मी र प्रहरी कन्ट्रोलको १०० मा फोन गरेको हुनसक्ने बताएकी थिइन्। उनले भनेकी छन्, ‘कोठाको रक्सी मेरो व्यक्तिगत प्रयोजनका लागि किनेर ल्याएको हो। त्यसको ६ सय रुपैयाँ अझै तिर्न बाँकी छ।’ फैसलामा ‘डिप्रेसनको औषधि र मादक पदार्थ सेवन गरेकाले म बेहोस भएको’ भन्ने लेखाएको हुनाले उनले सांसद रेग्मी र प्रहरीलाई बताएको सूचना विश्वसनीय हुन नसक्ने निष्कर्ष निकालेको हो।
FACEBOOK COMMENTS