काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवम् कार्यसमितिका सदस्यहरूले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई एवम् शुभकामना दिएको छ ।
अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी एवम् कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको हो ।
बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करिब चार वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । कोभिड महामारीको प्रभाव, रुस युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा पारेको असर एवम् पछिल्लो तीन वर्षदेखिको निरन्तर सङ्कुचित नीतिहरूले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ ।’
चालु आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । आर्थिक गतिविधिमा आएको सङ्कुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा सङ्कुचन एवम् बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति अध्यक्ष अग्रवालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।
मुलुकको अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण हुनुपर्ने चेम्बरले उल्लेख गरेको छ । काठमाडौं लगायत मुलुकका अधिकांश ठूला सहरमा व्यापारिक सटर बन्द भएकोप्रति चेम्बरले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ ।
उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न स्थायी रूपमै एकल अंकको ब्याज कायम हुनुपर्ने चेम्बरको ठहर छ । मौद्रिक नीतिको आगामी कार्यदिशा पूर्ण रूपले विस्तारित एवम् खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ । निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहजीकरण गरिनुपर्ने चेम्बरले जनाएको छ ।
आर्थिक मन्दीबाट उन्मुक्ति नपाउञ्जेल सम्ममा उद्यमी व्यवसायीहरूलाई चालु पुँजीको उपलव्धता सरल र सहज तवरले हुनुपर्ने एवम् हाल जारी चालू पुँजी कर्जा निर्देशिकालाई तत्काल स्थगित गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । यस्तै घरजग्गा कारोबारलाई थप गति दिन ५० लाख भन्दा माथिको कर्जाका शतप्रतिशत जोखिमभार कायम गरिनुपर्ने चेम्बरको माग छ ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले घरजग्ग खरिद बिक्रीको क्रममा विगतको सम्पत्तिको श्रोतलाई मान्यता नदिएर चालु नाफाको श्रोतलाई नै आधार बनाई घरजग्गा कारोबारलाई मान्यता दिन मालपोत कार्यलयबाट अपनाईएको प्रक्रियाले गर्दा घरजग्गा कारोबारमा शिथिलता आएको छ ।’ घरजग्गाको कर्जा प्रवाहमा हुने मूल्याङ्कनको सीमा ७०–३० बाट बढाएर ८०–२० को अनुपात कायम गरिनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।
चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्पादन वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको योगदान महत्वपूर्ण भएकाले नीतिगत सहजिकरण गरिदिनुपर्ने बताए । वर्तमान समयमा व्यवसायीहरू निकै हतोत्साही भएको उनको भनाइ छ । युवा पलायान रोक्नका लागि औद्योगिक र व्यावसायिक वातावरण बनाउनुपर्नेमा श्रेष्ठले जोड दिए ।
चेम्बर पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले उद्यमशीलता विकास र रोजगारी सृजना सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । मुलुकको आर्थिक अवस्था सुदृढ र प्रभावकारी परिणाम दिनेगरी काम सुरू भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
मुलुकको समग्र आर्थिक पक्षको मूल्याङ्कन गरी सरकारले नीतिगत निर्णयहरू गर्दै जाने प्रधानमन्त्री ओलीले बताए । उनले ढुक्क भएर लगानी एवम् व्यावसायिक गतिविधि गर्न चेम्बर पदाधिकारी एवम् कार्यसमितिका सदस्यहरूसँग आग्रह गरे ।
चेम्बरले यसअघि अर्थमन्त्री विष्णु पौडेलसमक्ष ४० र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष ३९ बुँदे सुझाव पेश गरिसकेको छ । सुझावहरू मुलुकको आर्थिक स्थिति चलायमान बनाउनुपर्ने र नीतिगत स्थायित्व हुनुपर्नेमा केन्द्रित रहेको चेम्बरले बताएको छ ।
पढ्नुहोस् ४३ बुँदे सुझावहरू–
Chamber--
यो पनि पढ्नुहोस्–
चेम्बर अफ कमर्सले गभर्नर अधिकारीलाई बुझायो मौद्रिक नीतिमा समेटिनुपर्ने ३९ बुँदे सुझाव (बुँदासहित)
FACEBOOK COMMENTS