काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ।
प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व सञ्चालकहरु, कर्मचारीवर्ग र ग्राहकहरूको भव्य उपस्थिति रहेको थियो। बैंकका अध्यक्ष हरि चन्द्र खड्काले पानसमा दीप प्रज्वलन गरि औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए।
बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ। अध्यक्ष हरि चन्द्र खड्काले डिजिटल प्रविधिमार्फत वेबसाइटको समुद्घाटन गरेका हुन्। उक्त वेबसाइट प्रकाशन पश्चात् बैंकले प्रदान गरिरहेको सेवा-सुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङ मार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोड लगायत विभिन्न बैंकिङ सेवाहरूको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने भएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरि जम्मा ५० जनाले रक्तदान गरेका छन्। कार्यक्रममा बैंकको अभ्युदय र प्रगतिको लागि समर्पित अविछिन्न योगदान, अटुट विश्वास, र तिलस्मी सेवाको कदर स्वरूप विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीहरूलाई सम्मानित गरिएको छ।
त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्व अध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहक वर्गहरुलाई आभार व्यक्त गरे ।
प्रमुख कार्यकारी अधिकृत श्री ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले बैंकद्वारा उद्यमशीलता विकास, रोजगार सिर्जना, सिप अभिवृद्धि र समाज परिवर्तनको परिकल्पनाका साथ गरिएका विभिन्न कार्यक्रममा पनि प्रकाश पारे। बैंकमा संस्थागत शुसाशन तथा कार्यसम्पादन क्षमता अनुरूप कर्मचारीलाई प्रोत्साहन गर्दै बैंकलाई पर्फ़मर्स प्याराडाइजू बनाउन सोही अनुरूप संस्थागत संस्कृति विकास गर्न सक्रिय रही आएको बताए।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS