काठमाडौं । दसैं र तिहारजस्ता चाडबाडहरू नजिकिएसँगै बजारमा कालोबजारी बढेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि रोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मञ्चले बजारमा विगतका वर्षहरुमा झैँ यस वर्ष पनि चाडबाडको मुखमा केही कालोबजारी गर्न पल्केका व्यवसायीहरुले सिण्डिकेटि गर्दै कालोबजारी गर्न थालेको र त्यसको प्रभावस्वरुप दाल, चिनी र चामलमा उच्च मूल्य वृद्धि भइरहेको बताएको हो ।
नेपाली बजारमा चिनीको मूल्य ९५ रुपैयाँ प्रतिकिलोबाट बढेर ११५ रुपैयाँ, सर्वसाधारणले उपभोग गर्ने मोटा चामलको मूल्य प्रतिबोरा ६०० रुपैयाँसम्म बढेको र दलहनमा प्रतिकिलो ९० रुपैयाँको हाराहारीमा बढेको विज्ञप्तिमा उल्लेख छ ।
विशेष रुपमा विगत दुई वर्षदेखि नै बजार भाउ अस्थिर रहेको चिनीको मूल्य भारतले निकासीमा गरेको कडाइ र भन्सार महसुल वृद्धि र नेपाल सरकारले स्वदेशी उद्योगको संरक्षण गर्ने नाममा अनावश्यक रुपमा लगाउँदै आएको ३० प्रतिशत भन्सार महसुल एवम् अग्रिम आयकर कट्टीबापत १० प्रतिशतको राजस्व उठाउने गर्नाले नेपाली बजारमा चामल, दाल र चिनीको मूल्य बढेको दाबी पनि विज्ञप्तिमा गरिएको छ ।
मञ्चले बजारमा भएको अव्यवस्था र अनावश्यक मूल्य वृद्धि नियन्त्रण गरी सहज, सुलभ रुपमा आपूर्ति व्यवस्थापन गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत शून्य भन्सार दरमा ४० हजार मेट्रिक टन चिनी पैठारी गर्न, एक लाख मेट्रिक टन चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत शून्य भन्सार दरमा पैठारी गरी बिक्री वितरणमा ल्याउने व्यवस्था गर्न पनि माग गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति–
FACEBOOK COMMENTS