साफ यू-२० च्याम्पियनसिपमा भुटानले माल्दिभ्सलाई हरायो
कर्पोरट खबर
6:13 pm, बुधबार, भदौ ५, २०८१
फाइल तस्बिर ।
काठमाडौँ । राजधानीमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । यस जितसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीन-तीन अङ्क जोडेका छन् । पराजित माल्दिभ्स भने अङ्कविहीन छ । यसअघि भारतले पहिलो खेलमा भुटानलाई १-० गोलअन्तरले पराजित गरेको थियो ।
भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले समान एक-एक गोल गरे । यता माल्दिभ्सकालागि भने फिरकले एक गोल फर्काए ।
खेलमा पहिलो अग्रता भुटानले लियो । खेलको २२ औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५१ औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो । गोलकिपर तेञ्जिङले डिबक्सबाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए ।
सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले बराबरी गोल फर्कायो । माल्दिभ्सका फिराकले डिबक्सबाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो ।
त्यसपछि खेलको ८९ औँ मिनेटमा भुटानले पुनः अग्रता लियो । भुटानका नोवाङले गोल गर्दै खेललाई २-१ गोलको अग्रतामा ल्याए । त्यसपछि खेलमा अर्को गोल हुन सकेन र अन्ततः भुटानको जित पक्का भयो ।
उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि सुरू हुनेछ ।
FACEBOOK COMMENTS