युक्रेनमा रूसको पछिल्लो आक्रमणमा चार जनाको मृत्यु भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले त्यसको उचित जवाफ दिने बताएका छन् ।
उनले रूसले विगत र वर्तमानमा गरेको आक्रमणको जवाफ युक्रेनले दिने सामाजिक सञ्जालमा चेतावनी दिएका हुन् ।
सोमबार रातिदेखि युक्रेनमा रूसी आक्रमणमा चार जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जेलेन्स्कीले रूसले सोमबारदेखि युक्रेनी नागरिक र पूर्वाधारमाथि ९० हवाई आक्रमण गरेको बताएका छन् । यी आक्रमणहरूमा कम्तीमा ८१ ड्रोन, क्रुज मिसाइल र ब्यालिस्टिक मिसाइलहरू संलग्न छन् ।
युक्रेनको वायुसेनाले सोमबारदेखि अहिलेसम्म पाँच रूसी मिसाइल र ६० ड्रोन खसालेको जनाएको छ । उसले सामाजिक सञ्जाल टेलिग्राममा रूसले १० मिसाइल र ८१ ड्रोनबाट आक्रमण गरेको बताएको छ ।
FACEBOOK COMMENTS