काठमाडौं । आइतबार बिहान ४:३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याएपछि सेनाको उद्धार टोली परिचालन भएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रको परिचालन भएको छ। दुवै टोलीले ‘रेकी’ तथा अवलोकन गर्नाका साथै पहिराको जोखिममा रहेको जगत गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ।
काठमाडौंमा रहेको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्गबाट उक्त इलाकामा तैनाथ भएको र टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।
बाढी खतरा तहभन्दा माथि रहेको र बढ्ने–घट्ने क्रम जारी रहेकोले त्रिशुली नदी बेनिघाटसम्म (अति उच्च जोखिम) हुने हुँदा उच्च स्थानमा जान, मुग्लिनसम्म (उच्च जोखिम) रहँदा उच्च सतर्कतामा बस्न साथै चितवन र नवलपरासी नदी आसपास (मध्यम जोखिम) रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
बाढीले जलसतहको खतरा तह निकै माथि पार गरेपछि धादिङ र गोरखा जोड्ने मुख्य सडक सम्पर्कविच्छेद भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि गोरखा, धादिङ, तनहुँ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाउन निर्देशन दिएको छ।

आइतबार सिंहदरबारस्थित कार्यालयमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीका कारण आरुघाट बजार क्षेत्र जलमग्न भएको र धादिङ जोड्ने पुल बगेको पुष्टि गरे।

उनका अनुसार बाढीले शाहस ऊर्जा कम्पनीको तल्लो संरचनामा क्षति पुर्याएको छ भने त्यहाँ कार्यरत १८ जना प्राविधिक तथा कर्मचारी सुरक्षित स्थानतर्फ सरेका छन्।

बाढीको प्रभाव क्षेत्रमा सेनाको हेलिकप्टरमार्फत हवाई निरीक्षण (रेकी) भइरहेको छ भने उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख उप्रेतीले बताए।
डा. उप्रेतीले मौसम प्रतिकुल भएकाले तत्काल हेलिकप्टर अवतरण गर्न नसकिए पनि उच्च जोखिममा परेका नागरिकहरूलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको बताए। उत्तरी क्षेत्रका सल्लेरी र जगत बजारमा केही घर तथा सवारीसाधन बगाएको प्रारम्भिक सूचना प्राप्त भएको र त्यसको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
समयमै पूर्वसूचना जारी गरिएकाले तल्लो तटीय क्षेत्रका बस्तीहरू तत्काल खाली गराउन सकिएको र अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्राधिकरणको दाबी छ।
प्राधिकरणले बेनिघाट, मलेखु तथा त्रिशूली नदी तटीय क्षेत्र हुँदै चितवनसम्मका बजार र बस्तीहरूलाई उच्च जोखिममा राख्दै स्थानीयलाई डाँडापाखातर्फ जान आग्रह गरेको छ।
विपद् व्यवस्थापन प्राधिकरणले अहिलेको पहिलो प्राथमिकता जीवन रक्षा (लाइफ सेभिङ) रहेको स्पष्ट पारेको छ। जोखिमयुक्त नदी किनारमा गएर भिडियो तथा तस्बिर खिच्ने, बाढी हेर्न भीडभाड गर्ने वा नदीले बगाएर ल्याएका दाउरा र सामान संकलन गर्ने जस्ता जोखिमपूर्ण गतिविधि नगर्न आम नागरिकलाई कडा चेतावनीसहित अपिल गरिएको छ।