काठमाडौं । प्रमुख सुरक्षा संगठन नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन् ।
उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो । यसअघि उनी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा छन् ।
सिग्देल सेनाको ४५ औं प्रधानसेनापति बनेका छन् ।
साउन २४ गतेदेखि वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा नियमित अवकाश लिनका लागि एकमहिने बिदामा बसिसकेका छन् । अब भदौ २४ मा नेपाली सेनाको परम्पराअनुसार शर्माले सिग्देललाई जिम्मेवारी हस्तान्तरण गर्ने छन् । सिग्देल अब २०८४ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् ।
करिब ३८ वर्षदेखि नेपाली सेनामा सेवारत सिग्देलले स्वदेश तथा विदेशबाट उच्च शिक्षा र सैनिक तालिम गरेका छन् । उनले आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर, नेपालको आर्मी वार कलेजबाट हायर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स तथा भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गरेका छन् ।
सेनाका अनुसार सिग्देलले पदिक पृतना, बाहिनी र गणको कमाण्ड गर्नुका साथै प्रतिविद्रोह तथा जंगल वारफेयर स्कुलको कमाण्डेन्टका रूपमा जिम्मेवारीसमेत निर्वाह गरेका छन् । उनले युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको विभागीय प्रमुखका साथै प्रधानसेनापतिको सैनिक सहायकका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
सिग्देलसँग अन्तर्राष्ट्रिय सेमिनार, तालिम तथा बैठकहरुमा सहभागिताका बाहेक संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकका रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेको अनुभव छ । साथै उनी ‘सुप्रबल जनसेवाश्री तेस्रो’ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक र मानपदवीहरूबाट विभूषित भएका छन् ।
FACEBOOK COMMENTS