काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइनमार्फत सेवा प्रवाह गर्ने भएको छ ।
यो भन्दा अघि बिचौलिया तथा दलाल हावी भएपछि त्यसको सर्वत्र विरोध हुँदै आएको थियो ।
सोही कारण कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आवद्ध गर्न कार्यालयले नयाँ सफ्टवेयर (कम्पनी एडमिनिष्ट्रेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम– सीएएमआईएस) कार्यान्वयनमा ल्याएसँगै सेवाग्राहीले दोस्रो व्यक्तिको सहयोगबिनै आफ्नो काम आफैंले सम्पन्न गर्न सक्ने अवस्था सिर्जना भएको छ ।
नयाँ सफ्टवेयरमा कम्पनी दर्ता गर्न तथा दर्ता भएका कम्पनीहरूले प्रचलित कानुनबमोजिम विवरण पेश गर्न सक्नेछन् । यस्तै, वार्षिक रूपमा नवीकरण गर्नुपर्ने सेवाग्राहीले पनि यो सेवा प्राप्त गर्न सक्नेछन् ।
रजिष्ट्रारको कार्यालयमा अभिलेख रहने प्रबन्धपत्र, नियमावली, कम्पनी दर्ता प्रमाणपत्र तथा अन्य कागजातहरूमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम डिजिटल हस्ताक्षरको प्रयोग गरी प्रमाणित गर्ने गरिएको रजिष्ट्रार प्रदीपराज अधिकारीले जानकारी दिएका छन् ।
प्रमाणित गरिएका कागजातमा डिजिटल हस्ताक्षर भएको व्यक्तिको नामथर, पद र मिति उल्लेख हुने तथा उक्त विवरणलाई सम्बन्धित कागजातमा भएको क्यूआर कोडमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ । जसका कारण उल्लेख भएको विवरणको आधारमा कागजातको आधिकारिकता यकिन गरी अन्य सरोकारवाला निकायले समेत सहज रूपमा सेवा प्रवाह गरिदिन सक्ने रजिष्ट्रार कार्यालयले जनाएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयले यसअघि आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाअन्तर्गत कम्पनी दर्ता तथा नवीकरण लगायत सेयर लगत राख्नेजस्ता सेवाहरू अनलाइन प्रणालीबाटै उपलब्ध गराउन हाल चालु रहेका कम्पनी सञ्चालकहरूको डिजिटल हस्ताक्षर अनिवार्य गरेको थियो । पहिलो चरणमा पब्लिक लिमिटेड कम्पनीका सञ्चालकको डिजिटल हस्ताक्षर अनिवार्य गरिएको छ ।
आफूहरूले यसका निमित्त परिपत्र जारी गरिसकेको र यससम्बन्धी सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्रत्येक पब्लिक कम्पनीले कम्पनी ऐन तथा अन्य सम्बद्ध कानुनबमोजिम कार्यालयमा पेश गर्नुपर्ने विवरण डिजिटल हस्ताक्षर गरी कार्यालयमा पेश गर्नुपर्ने उनले बताए ।
जसअनुसार भदौ १४ भित्र सबै पब्लिक कम्पनीहरूले डिजिटल हस्ताक्षर गरी रजिष्ट्रारको कार्यालयमा विवरण पेश गर्नुपर्नेछ । कम्पनीहरूले वार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्णयसहित अन्य विवरणलगायत कम्पनीको तर्फबाट प्रमाणित गर्नुपर्ने कागजात तथा विवरणहरूमा डिजिटल हस्ताक्षर गरी कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रवाह गरिने सेवालाई चरणवद्ध रूपमा पूर्ण अनलाइन प्रणालीमा आवद्ध गर्ने उद्देश्यले कार्यालयले नयाँ सफ्टवेयर निर्माण गरी हाल कार्यान्वयनमा रहेको छ । नयाँ सफ्टवेयर पूर्ण कार्यान्वयनमा आएपछि नयाँ कम्पनी दर्ताको सेवा प्राप्त गर्न सेवाग्राहीहरू कार्यालयमा भौतिक रूपमा उपस्थित हुनु नपर्ने र कार्यालयबाट प्रमाणित गर्नुपर्ने कागजात डिजिटल हस्ताक्षरमार्फत प्रमाणित गरी सिस्टममार्फत नै सेवाग्राहीकोमा सम्प्रेषण हुने व्यवस्था मिलाउन सक्ने गरी सेवा प्रवाह भइरहेको छ ।
कार्यालयबाट प्रवाह हुने सेवाका साथै समग्र कम्पनी प्रशासनमा सूचना प्रविधि प्रयोगको दायरा विस्तार गरी सेवालाई सरल, सहज, मितव्ययी, पारदर्शी बनाई संस्थागत सुशासन अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयले प्रत्येक कम्पनीहरूले कानुनबमोजिम विवरण पेश गर्दा डिजिटल हस्ताक्षर प्रयोग गरी कागजातहरू प्रमाणित गर्नुपर्ने व्यवस्थालाई चरणबद्ध रूपमा लागू गर्न लागिएको पनि कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS