काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई कारबाहीको माग हुन थालेको छ । गत शनिबार पोखरामा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रहरी महानिरीक्षकको जिभ्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि मन्त्री गुरूङलाई कारबाहीको माग हुन थालेको हो ।
नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरूले छुट्टाछुट्टै विज्ञप्ति निकालेर मन्त्री गुरूङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद भण्डारीले मन्त्री गुरूङलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।
देशको शान्तिसुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनका प्रमुखलाई मन्त्रीबाट सार्वजनिकस्थलमा अपशब्द व्यक्त भएको भन्दै उनले मन्त्री गुरूङलाई बर्खास्त गर्न माग गरेका हुन् ।
उनले शान्ति सुरक्षामा भविष्यमा तल-माथि हुन गएमा त्यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने समेत उल्लेख गरेका छन् ।
यस्तै पूर्वप्रहरी संगठन प्रमुख मञ्चले पनि मन्त्री गुरूङलाई कारबाही गर्न प्रधानमन्त्रीसमक्ष माग गरेको छ ।
मन्त्री गुरूङको अभिव्यक्ति बहाल तथा पूर्वसुरक्षाकर्मीको मानमर्दन हुने खालको रहेको मञ्चको ठहर छ ।
मन्त्री गुरूङलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिएर प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न पनि मञ्चले माग गरेको छ ।
FACEBOOK COMMENTS