काठमाडौं । अभिनेत्री पूजा शर्माले मोडल तथा अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीबीचको एक घटनालाई लिएर गरेको टिप्पणी यतिबेला आलोचनाको विषय बनेको छ । उक्त घटनालाई लिएर दिएको अभिव्यक्तिले पूजा विगतमा पनि आलोचित हुनुपरेको थियो ।
हालै एक युट्युब पडकास्टमा पूजाले उक्त घटनामा पलको पक्षमा आफ्नो समर्थन दोहोर्याएकी हुन् । उनले विगतमा पनि उक्त घटनामा पलको पक्षमा वकालत गर्दै आएकी थिइन् ।
पडकास्ट सञ्चालिकाले पललाई उक्त घटनाप्रति लक्षित गर्दै हिरासत पर्दा भएको एक्लोपनको आभाषबारे सोध्छिन् । पल त्यसको केही समय आफूलाई एकाधबाहेक कसैको साथ नमिल्दा एक्लोपनको महसुस भएको बताउँछन् ।
पल बोलेपछि पूजा स्वतःस्फुर्त यस विषयमा टिप्पणी गर्न थाल्छिन् । उनले पल दोषी हुनै नसक्ने आशयको अभिव्यक्ति दिन्छिन् ।
विगतमा पलको पक्षमा बोल्दा आफूलाई अभिनेत्रीहरूको एक समूहबाट हटाइएको पूजाले बताएकी छन् । सत्यको जित हुने भन्दै पूजाले उक्त घटनामा अदालतले पललाई सफाइ दिएपछि कानुनले नै यो कुरा पुष्टि गरेको बताइन् ।
पूजाको यो टिप्पणीपछि उक्त घटनामा पीडित भनिएकी गायिका समीक्षा अधिकारीले फेसबुकमा पूजाले बोलेको भिडिओको अंश शेयर गर्दै आपत्ति जनाएकी छन् ।
उनले घटनामा सत्य के हो आफू, पल र भगवानलाई मात्र थाहा रहेको भन्दै आफू पीडित भए पनि मायामा त्यागस्वरूप माफी दिएर बकपत्रमा बयान फेरेपछि पल छुटेको आशय व्यक्त गरेकी छन् ।
समीक्षाले अहिले सबै सामान्य तरिकाले चलिरहेको अवस्थामा उक्त घटनामा पटकपटक आफूलाई दोषी देखाउने कोसिस गरेर पीडा नदिन पूजालाई आग्रह गरेकी छन् ।
उनले लेखेकी छन्, ‘अदालत नै पडकास्टहरू हुन् भने, न्यायाधीश नै यी र यस्ता कलाकारहरू हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भए पनि हुन्थ्यो नि ! सत्य के हो कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सही, के गलत छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफूलाई जोख्न तयार भएँ । र, माफी दिएर साबित गरिदिएँ । त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैं छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र ? सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो तिमी मेरो बहिनी भनेर आउनुभयो, मैले दिदी भनेँ, मानेँ । अहिले पनि मानेकी छु, मान्छु । तर, यसरी पीडा नदिनुस्, प्लिज !’
यसैबीच समीक्षाको यो स्टाटसपछि पूजाले पनि जवाफमा स्टाटस लेखेकी छन् । आफूलाई यस विषयमा बोल्न मन नभए पनि बाध्य भएर बोल्नुपरेको भन्दै उनले समीक्षाको यस कार्यलाई शत्रुताको व्यवहारका रूपमा अथ्र्याएकी छन् ।
२/४ दिनपछि आफ्नो चलचित्र आउन लागेको र त्यसलाई प्रभावित गर्न समीक्षाले शत्रुता साधेको आशय व्यक्त गरेकी छन् ।
पूजाले लेखेकी छन्, ‘आज गायिका बहिनीले मलाई जोडेर मेरो भिडिओ शेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकी छन्, त्यसमा मेरो गम्भीर आपत्ति रहेको छ । त्यो भिडिओ सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु । यो विषयमा म नबोलुँ भनेको र बोल्न आवश्यक पनि ठान्थिनँ, तर यसरी मेरो मुभी आउनुभन्दा २/४ दिन अगाडि (पहिला पनि र अहिले पनि) मलाई टार्गेट गरिन्छ भने म पनि बाध्य भएर बोलेँ । मिडियामा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त प्रोफेसनल हुन् । योबाहेक मेरा र ती बहिनीको पनि आफ्नो व्यक्तिगत जीवन होला । त्यसमा न म कहिल्यै बोलेँ र कहिल्यै बोल्नेछु । र, सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु । मुभी आउनु अगाडि शत्रुहरू त लाग्छन् नै !’
FACEBOOK COMMENTS