काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले आफ्नो फेसबुक पोष्ट सरकारले हटाएको भन्दै गम्भीर आरोप लगाएका छन् ।
बालेनले यसअघि सोमबार नेकपा एमालेकी सांसद रेखा शर्माले एक जना बालिकालाई बन्धक बनाइ घरेलु हिंसा गरेको भन्दै तस्बिरसहित फेसबुकमा पोष्ट गरेका थिए । उक्त पोष्ट हाल डिलिट गरिएको छ । पोष्ट डिलिटबारे उनको सचिवालयले अत्यधिक रिपोर्टका कारण फेसबुकले कम्युनिटी गाइडलाइन्स देखाएर रिमुभ गरेको बताएको थियो । तर, बेलुका बालेनले सरकारले नै सो पोष्ट डिलिट गरेको आरोपसहितको स्टाटस लेखेका हुन् ।
आज मंगलबार साँझ फेसकुमा लेख्दै उनले भनेका छन्, ‘पोस्ट उडाउने होइन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, होइन भने दोषी समाउ ।’ उनको यो स्टाटसले उनले डिलिट गरेको भनिएको अघिल्लो फेसबुक पोष्ट सरकारले नै हटाएको आशङ्का व्यक्त गरेको छ । तर, उनले यो स्टेटमेन्टको साथमा कुनै इभिडेन्स नराखेका कारण ‘स्टन्ट’ मात्रै हो भन्न सकिने अवस्था पनि छ ।

मेयर शाहले झुटो कुरा लेखेकाले सो पोष्ट आफैंले डिलिट गरेको आरोप लागिरहेका बेला उनले त्यो दोष सरकारतिर फर्काएर आफूलाई पुनः एकपटक सत्य सावित गर्ने प्रयास गरेको देखिएको छ । यसअघि मेयर साहका स्वकीय सचिव भूपदेव शाहले भनेका थिए, ‘कम्युनिटी गाइडलाइनभन्दा बाहिर गएको भनेर फेसबुकले हटाएको हामीले बुझेका छौँ, यो मेयरसाबले आफैँ हटाउनुभएको होइन, कसैले फेसबुकलाई रिपोर्ट गरेकाले फेसबुकले हटाएको हो । तर, मेयरसाबले कुन मर्म र हिसाबमा स्टाटस राख्नुभएको हो भनेर फेसबुकले बुझेन । हामी आशावादी छौँ, फेसबुकले टेक डाउन गरेको त्यो स्टाटस रिकभर हुनेछ, तर कतिपयले कुरै नबुझी स्टाटस मेयरसाबले नै हटाएको भनिरहेका छन्, त्यो सत्य होइन ।’

बालेन शाहले किन हटाए एमाले सांसद शर्माबारे लेखेको फेसबुक स्टाटस ?