काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरेका छन् । ‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ,’ उनले भने, ‘सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुन्छ ।’
ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको बताए । महासंघले बैंकहरूलाई आफ्नै शर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको बताउँदै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने बताए ।
ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संसोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराए ।
यसैगरी, उच्च विदेशी विनिमय सञ्चिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह छ ।
भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताउँदै निजी क्षेत्रलाई महत्व दिनुपर्ने विषयमा कोष सदैव सकारात्मक रहेको स्पष्ट गरे ।
FACEBOOK COMMENTS