दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
जेलबाट रिहा भएको दुई दिनपछि आम आदमी पार्टी (आप)को कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । आफूले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने उनले बताए ।
दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सीबीआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
न्यायाधीशहरू सूर्यकान्त र उज्जल भुयनको इजलासले मुख्यमन्त्री केजरीवाललाई शर्तसहित छाड्न आदेश दिएको थियो ।
सीबीआईले उनलाई जुन २६ मा पक्राउ गरेको थियो । यसविरूद्ध केजरीवालले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
जेलबाट छुटे पनि केजरीवाल लेफ्टिनेन्ट गभर्नर भिके सक्सेनाको अनुमतिबिना मुख्यमन्त्री कार्यालय वा कुनै कागजातमा हस्ताक्षर गर्न नपाउने गरी छाडेको थियो ।
FACEBOOK COMMENTS