काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर बराबरको ‘यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजना, गभरमेन्ट टु गभरमेन्ट’ गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय ग्लोबल फूड सेक्युरिटी स्ट्राटेजी ‘नेपाल कन्ट्री प्लान, २०२४-२०२८’ को पनि उद्घाटन गरिएको छ, जसमा नेपालमा खाद्य र पोषण सुरक्षा सुधार गर्न अमेरिकी सरकारको दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले संघीय, प्रदेश र स्थानीय सरकारहरूमार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा कृषि विकास कार्यक्रमहरूका योजना र कार्यान्वयनलाई सुदृढ गर्नका लागि नेपाल सरकारको क्षमता अभिवृद्धि गर्ने । परियोजनाले ६९ हजार घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्नेछ ।
नयाँ ग्लोबल फूड सेक्युरिटी स्ट्राटेजी ‘नेपाल कन्ट्री प्लान, २०२४-२०२८’ गरिबी, भोकमरी र कुपोषणलाई दिगो रूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रूपान्तरण गर्न लक्षित छ । यस कन्ट्री प्लानअन्तर्गत तराई र पहाडका २६ जिल्लाहरू समावेश हुनेछन्, जसअन्तर्गत अमेरिकी सरकारको कृषि विकास कार्यक्रमलाई मधेस प्रदेशसम्म विस्तार गरी नेपालको सबैभन्दा जोखिममा रहेका जनसंख्यामा अझ बढी पहुँच बढाउनेछ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले भने, ‘नयाँ ग्लोबल फूड सेक्युरिटी स्ट्राटेजी नेपाल कन्ट्री प्लानले संयुक्त राज्य अमेरिकाको नेपाल सरकार, यहाँका निजी क्षेत्र र समुदायहरूसँगको विद्यमान साझेदारीलाई सुदृढ गरी समावेशी, उत्थानशील र दिगो विकास हासिल गर्नेछ र हाम्रो नयाँ गभरमेन्ट टु गभरमेन्ट सम्झौता नेपालमा खाद्य सुरक्षालाई सुनिश्चित गर्ने हाम्रो सामूहिक प्रतिबद्धताको एक उदाहरण हो ।’
कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भने, ‘नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन साझेदारीका लागि आजको उद्घाटन कार्यक्रम महत्त्वपूर्ण रह्यो ।’
मन्त्री अधिकारीले खाद्य सुरक्षालाई अगाडि बढाउन र दिगो विकास प्रवर्द्धन गर्न दुवै सरकारको संयुक्त प्रयासलाई जोड दिँदै यस सहकार्य प्रति नेपाल प्रतिबद्ध रहेको जानकारी दिए ।
सन् २०११ देखि अमेरिकी सरकारको ‘फिड द फ्युचर’ कार्यक्रमले ८ लाखभन्दा बढी नेपालीहरूलाई कृषि उत्पादकत्वमा वृद्धि, व्यवसाय प्रवर्द्धन र पोषणमा सुधारका लागि १८१ मिलियन अमेरिकी डलरभन्दा बढी सहयोग गरिसकेको छ । यी पहलहरूले गर्दा फिड द फ्युचर कार्यक्रम सञ्चालन भएका जिल्लाहरूमा गरिबीमा ७१ प्रतिशत र बालबालिकामा हुने कुपोषणमा ३९ प्रतिशतले कमी आएको छ ।
FACEBOOK COMMENTS