बैंकक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् ।
सोमबार बैंककमा आयोजित ३७औं एसियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरूलाई होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यहरूजस्ता क्षेत्रमा सम्भावनाहरू रहेको जानकारी गराए । उनले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताए ।
ढकालले नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरू रहेको कुरामा पनि जोड दिए । ढकालले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कलाजस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्याएको बताए ।
नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेका अवसरहरूको चर्चा गर्दै ढकालले देशका युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताए । तर, यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगहरूका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको उनले औंल्याए ।
ढकालले नेपालले विदेशी लगानीकर्ताहरूका लागि प्रदान गर्ने रणनीतिक फाइदाहरू पनि औंल्याए । उनले नेपालले हालसालै लगानीसम्बन्धी आठ कानुनहरू संशोधन गरेको र विदेशी लगानीलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौताको संरचना पारित गरेको जानकारी दिए ।
ढकालले नेपालको जलविद्युत क्षेत्रको बढ्दो सम्भावनाको पनि चर्चा गरे । भारतले आगामी दस वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको र बंगलादेशमा देखिएका नयाँ अवसरहरू पनि उनले उल्लेख गरे ।
FACEBOOK COMMENTS