काठमाडाैँ । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।
मंसिर २ मा बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको आयोगको विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।
आयोगका अनुसार मंसिरसाँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची सार्वजनिक गरिनेछ । दर्ता भएको उम्मेदवारीमाथि विरोधको उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म, त्यसै दिन दिउँसो ३ बजेदेखि ४ गते साँझ ५ बजेसम्म मनोनयमपत्र र उजुरीमाथि जाँचबुझ एवम निर्णय गरेर साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकतृको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ भने त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
यस्तै निर्वाचन कार्यतालिका अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघि अर्थात मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसाद निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।
FACEBOOK COMMENTS