चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वलाई लक्षित गर्दै निकुञ्जको सुरक्षा सुदृढ बनाएको छ । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी-सिकारीका घटना बढी हुन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यो समयमा चोरी-सिकारीका घटना बढी हुने भएकाले सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । नियमित जाँचसँगै आकस्मिक गस्ती र जाँचलाई बढाइएको उनले बताए ।
उनले भने, ‘निकुञ्ज क्षेत्रमा रहेका ६७ वटा पोष्टलाई चुस्त बनाएका छौँ । अझै प्रभावकारी रूपमा काम गर्नका लागि समुदायसँग नियमित सम्पर्कमा रहन निर्देशन गरिएको छ ।’
नेपाली सेना र निकुञ्ज प्रशासनका ती पोष्टबाट नियमित गस्ती र सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उनले भने, ‘चाडपर्वको समयमा हुन सक्ने चोरी-सिकारी नियन्त्रणका लागि समुदायमा आधारित चोरी-सिकारी नियन्त्रण एकाइलाई समेत चनाखो रहन आग्रह गरिएको छ ।’
यहाँ पाइने पाटेबाघ र एकसिङ्गे गैँडाको चोरी-सिकारी विगतका वर्षहरू चाडपर्वको समयमा बढी हुने गरेको भन्दै पुनले यो समयमा हात्तीबाट गरिने गस्ती, पैदल गस्ती, साइकल गस्तीलगायतलाई थप प्रभावकारी बनाइएको बताए ।
चाडपर्वको समयमा चोरी-सिकारी हुन सक्ने क्षेत्रको पहिचान गरी संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन र व्यवस्थापनको काम गरिएको उनले जानकारी दिए । पछिल्ला समयमा समुदायमा आधारित चोरी-सिकारी नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाइएको उनले बताए ।
यस वर्ष निकुञ्ज र आसपासको क्षेत्रमा छवटा गैँडा मृत फेला परेका छन् । यसमध्ये एउटालाई करेन्ट लगाएर मारिएको हो भने अन्य कालगतिले मरेका हुन् ।
FACEBOOK COMMENTS