खानी र पानी एकैठाउँमा चल्दैन :गोकुल बाँस्कोटा
कर्पोरट खबर
4:02 pm, सोमबार, असोज २८, २०८१
काभ्रे। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि दोहोरो परेका र छरिएका योजनाका लागि विनियोजित बजेट एकीकृत गरेर स्रोतको व्यवस्थापन गर्न सुझाव दिएका छन् । उनले भने , “अनावश्यक दोहोरो, तेहोरो परेका र कार्यान्वयनमा जान नसक्ने योजनाका लागि हालिएको सबै बजेट कटौती गर्नुपर्छ र एकै ठाउँमा केन्द्रीकृत गर्नुपर्छ ।’
विपद्को अवस्थामा नागरिकलाई म एक्लो छैन, साथमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री बाँस्कोटाले भने , “नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ । घोषणा गर्ने, काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । बजेट थुप्रिने, केही नगर्ने र अलमलमा पर्ने कुरा हुनु भएन ।”
यस पटकको बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुनुमा मानवीय क्रियाकलाप नै बढी जिम्मेवार रहेको औँल्याउँदै नेता बाँस्कोटाले जथाभावी अतिक्रमण गरेर खोलाकै छेउ र पानीको मुहानमै खानी चलाउने कुरा सम्पूर्ण हिसाबले रोकिनुपर्ने बताए। “यसमा कसैको दबाब र प्रभावमा पर्नु हुँदैन । नागरिकको रक्षा पहिलो सर्त हुनुपर्छ”, उनले भने ।
FACEBOOK COMMENTS