काठमाडौं । पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारतलगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिद-बिक्री सम्झौतालगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
अमेरिकाको वाशिङ्टनमा यूएस चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा नेपाली र विदेशी बजारसमेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरेका हुन् । उनले नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए ।
यसैगरी भारतसँग भएको दस हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरूलाई दिए ।
नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरूलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गरे । संसारको सबैभन्दा बढी जनसंख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दूरीमा शीतल र स्वस्थ वातावरणसहितको हिलस्टेशन विकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरूलाई देखाए ।
लगानी सहजीकरणका लागि महासंघले एफडीआई हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडीआई हेल्प डेस्कमार्फत सहजीकरण गरिरहेको छ ।
नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिती रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्यून हुँदै गएको बताए । साथै सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए ।
अध्यक्ष ढकाल विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुने क्रममा वाशिङ्टनमा छन् । यसअघि उनले अन्तर्राष्टिय वित्त निगमका उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेका छन् ।
FACEBOOK COMMENTS