काठमाडौं । सहकारीको रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती यतिबेला जेलमा छन् । उनले पाँचवटा सहकारीबाट ५ हजारभन्दा बढी सदस्यको करिब ६ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । उनले सञ्चालन गरेको सहकारीका पीडितहरू यतिबेला प्रहरीमा उजुरी दिँदै रूँदै फर्किरहेका छन् ।
एक पीडितले भनिन्, ‘हाम्रो ९ लाख रूपैयाँभन्दा बढी दुःख गरेर जम्मा गरेको रकम पाउन सकिएन, अहिले छोरालाई स्कुल फी तिर्न मुस्किल भयो ।’
अर्की पीडित सपना तामाङले भनिन्, ‘दुःख गरेर जम्मा गरेको रकम केबी उप्रेतीले अपचलन गरेको वर्ष दिनभन्दा बढी भइसक्यो तर रकम पाउने सुरसार छैन । कुन दिन दशा लागेर सहकारीमा पैसा राखिएछ, अहिले त्यो रकम कसरी फिर्ता पाउने भन्ने चिन्ताले रातभरि निद्रासमेत लाग्दैन ।’
यस्ता पाँच हजारभन्दा बढी पीडितहरू बचत फिर्ता नपाएर यसैगरी रोइरहेका छन् । तर, सरकारले बचत अपचलनकर्तालाई जेल हाले पनि बचत फिर्ताको सुनिश्चितता भने गर्न सकेको छैन ।
उप्रेतीले हाम्रो सगरमाथा, आइडल यमुना, नागरिक कल्याण, तपाईं हाम्रो र घेदुङ सहकारीबाट करिब ६ अर्ब १३ करोड रूपैयाँ बचत हिनामिना गरेको छानबिनले देखाएको छ । उनले सहकारीबाट अपचलन गरेको रकम अनुत्पादक क्षेत्रहरू घर-घडेरी, स्कुल-कलेजमा लगानी गरेका छन् । सरकारले उनको सम्पत्तिको खोजी भइरहेको र बचतकर्ताको बचत फिर्ता गर्ने बताउँदै आएको छ ।
बागमती प्रदेश सहकारी समन्वय समितिले पनि हालसम्म यस सहकारीको विषयमा ठोस कदम चालेको छैन । केही सहकारीहरूको रकम सञ्चालकको सम्पत्ति जफत गरेर फिर्ता गरिरहँदा यस सहकारीको हकमा त्यसो हुन सकेको छैन ।
राजनीतिक रूपमा निकै पहुँच बनाएका उप्रेतीले बचतकर्ताको ठूलो रकम अपचलन भएको उजुरी पर्दा पनि उनलाई गिरफ्तार गरिएको थिएन । तर, तत्कालीन गृहमन्त्री रवि लामिछाने सरकारमा आएपछि उनको निर्देशनमा उनलाई समातिएको थियो ।
सरकारले राजनीतिक पहुँचको आडमा सुरेन्द्र भण्डारी कार्यकारी निर्देशक रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई संकटग्रस्त घोषणा गर्ने र त्यसका सञ्चालकहरूलाई खुलेआम छाड्ने गरेपछि उप्रेतीले पनि राजनीतिक पहुँच बढाएर खुलेआम रकम हिनामिना गर्दै आइरहेका थिए ।
सयौं बचतकर्ताहरूको उजुरी प्रहरीमा पुगेको छ तर बचत फिर्ताको कुनै टुंगाे छैन । प्रहरीले बचतकर्ताको आन्दोलनलाई हस्तक्षेप गर्ने गरेको छ । बुधबार मात्र माइतीघरमा आन्दोलन गर्दा बचतकर्ताहरू घाइते भएका छन् ।
पीडितकाे उजुरी
FACEBOOK COMMENTS