काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा विशेष योगदान गरेको ज्योति विकास बैंक लिमिटेडलाई राष्ट्रिय आविष्कार केन्द्रले सम्मानित गरेको छ।
बैंकले ‘न्यानो नानी’ परियोजनामार्फत ५१ स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन’को पहुँच पुर्’याएकोमा यो सम्मान प्रदान गरिएको हो।काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई सम्मानपत्र प्रदान गरेका थिए ।
डा पुनले बैंकले नवजात शिशुको स्वास्थ्य र जीवन रक्षाका लागि चालेको कदमप्रति आभार प्रकट गर्दै यो परियोजना देशको स्वास्थ्य क्षेत्रमा अनुकरणीय बनेको बताए ।
‘न्यानो नानी’ परियोजना चार वर्षअघि सुरु गरिएको हो। यस परियोजनामार्फत राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै निर्माण गरेका बेबी वार्मर मेसिन बैंकको सहयोगमा विभिन्न स्वास्थ्य केन्द्रमा जडान गरिएको छ। हालसम्म जडान गरिएका ५१ मेसिनमार्फत हरेक वर्ष करिब १८८७ नवजात शिशुको जीवन रक्षा भइरहेको बैंकले जनाएको छ।
राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेका बेबी वार्मर विदेशबाट आयात गरिएका उपकरणभन्दा ५० प्रतिशत कम लागतमा उपलब्ध छन्। बैंकले यस परियोजनालाई प्रोत्साहन गर्दा स्वदेशी उत्पादन प्रवर्द्धन र युवाको सीप विकासमा समेत योगदान दिएको छ।
बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका विभिन्न प्रदेशमा बेबी वार्मर जडान गरेको छ। कोशी प्रदेशमा १३, मधेश प्रदेशमा ६, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा ७, कर्णाली प्रदेशमा ७, र सुदूरपश्चिम प्रदेशमा २ वटा स्वास्थ्य केन्द्रमा उपकरण वितरण गरिएको छ। उपकरणको सञ्चालन र प्रयोग सुनिश्चित गर्न स्वास्थ्यकर्मीलाई विशेष तालिमसमेत प्रदान गरिएको छ।
बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर, र ७५ एटीएममार्फत देशभर सेवा प्रदान गर्दै आएको छ। ग्राहक, कर्मचारी, सेयरधनी, र समग्र समाजप्रति उत्तरदायी बन्ने प्रतिबद्धताका साथ ज्योति विकास बैंकले आफ्नो भूमिका सुदृढ बनाउँदै लैजाने लक्ष्य राखेको छ।
FACEBOOK COMMENTS