काठमाडौं । नेशनल साइबर ओलम्पियाड-२०८१ को चौथो संस्करण आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गइरहेको नेशनल साइबर ओलम्पियाड-२०८१ पुस १५ गतेदेखि काठमाडौंमा हुने छ ।
यस कार्यक्रममा काठमाडौं उपत्यकाका ५० भन्दा बढी स्कुलका टिमहरूले प्रतिस्पर्धा गर्ने छन् ।
नेशनल साइबर ओलम्पियाड सूचना प्रविधि क्षेत्रको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुनेछ, जसमा सहभागी हुने स्कुलहरूले पुसको ५ गतेसम्ममा दर्ता गर्नुपर्ने छ ।
आयोजकका अनुसार यो प्रतियोगिताको चारवटा संस्करण यसअघि २०७१, २०७२, २०७३ र २०७९ मा सफल रूपमा आयोजना भइसकेको र पाँचाैं संस्करण अझ परिस्कृत रूपमा सम्पन्न हुन गइरहेको हो । प्रतियोगिता क्वालिफाइङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा नकआउट पद्धितबाट सञ्चालन हुने छ । प्रतियोगितामा जनरल, करिकुलम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्याम्ब्लिङ र ग्यास्पिङहरूमा दर्ता भएका प्रतियोगी समूहबीच प्रतिस्पर्धा गराइने छ ।
यसपटकको नेशनल साइबर ओलम्पियाडमा विभिन्न सूचना प्रविधिसँग सम्बन्धित कार्यशालाहरू प्रत्येक हप्ता सञ्चालन हुने छन् । उक्त कार्यशालामा प्रतियोगितामा भाग लिने विद्यार्थीहरू तथा प्रतियोगितामा भाग लिन नसकेका विद्यार्थीहरूले पनि कार्यशालामा सहभागी भई प्रविधि क्षेत्रको सीप सिक्न पाउने छन् ।
नेशनल साइबर ओलम्पियाड-२०८१ प्रतियोगितामा उत्कृष्ट हुने टिमले नगद पुरस्कार, ट्रफी, मेडल तथा अन्य धेरै उपहारहरूले सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ओरिन्टेसन पुसको १५ गते सुरू भई अन्तिम चरणको प्रतियोगिता माघको ७ गते सम्पन्न हुने छ । सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धामार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफूलाई अद्यावधिक राख्ने अवसर पाउने यसका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले सम्बन्धित स्कुलमा पठाइएको फारम भरेर वा अनलाइनमार्फत नाम दर्ता गर्न सक्छन् ।
FACEBOOK COMMENTS