काठमाडौं । नेकपा एमालेका नेताहरूले दोलखाका बामपन्थी युवा नेता बुद्धिमान पाख्रिनको हत्या गरिनुको कारण खोजेका छन् ।
सहिद पाख्रिनको हत्या भएको २२औँ स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताहरूले उनको हत्या गरिनुको कारण खोजी गरेका हुन् ।
नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको २२औँ बुद्धिमान पाख्रिन स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गरेका अधिकांश दोलखाली नेताहरूले सहिद पाख्रिन निर्दोष रहेको र युद्धका नाममा तत्कालीन माओवादीले निर्ममतापूर्वक हत्या गरेको भन्दै आक्रोश व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् दोलखाका नेता आनन्द प्रसाद पोखरेलले हत्या र हिंसाको घटना अत्यन्तै पीडादायी हुने र त्यो नेकपा एमालेले भोगेको स्मरण गरे । ‘हत्या र हिंसाका घटना अत्यन्तै पीडादायी हुन्छन् । जतिबेला बुद्धिमान पाख्रिनको हत्या माओवादीहरूले गरे त्यतिबेला म दोलखा एमालेको सचिव थिएँ, उहाँ सदस्य हुनुहुन्थ्यो,’ उनले भने, ‘हाम्रो आँखै अगाडिबाट अपहरण गरेर उहाँको हत्या भयो । उहाँको हत्या किन गरियो त्यसको जवाफ हामीले अहिलेसम्म पाएका छैनौँ ।’
सिस्टममा हिँडेका एमालेका नेता तथा कार्यकर्तालाई थुतेर मारेकाले माओवादीहरूबाट द्वन्द्वको नाममा गम्भीर अपराध भएको नेता पोखरेलको भनाइ थियो । अहिले पनि विभिन्न नामका आन्दोलनको धम्की दिएर समाजलाई उद्देलित बनाउने काममा माओवादी अग्रसर रहेको नेता पोखरेलले बताए । ‘माओवादी अहिले पनि हत्या र हिंसाको धङधङीमा छ । तर, हाम्रा बुद्धिमान पाख्रिन शान्तिका प्रतिक थिए । माओवादीले चलाएको तत्कालीन युद्ध अन्त्य गर्न उहाँको पनि भूमिका छ । त्यसकारण हामीले उहाँको रगत खेर जान दिन हुँदैन,’ उनले भने ।
यसैगरी, अर्का पोलिटब्युरो सदस्य ईश्वरी रिजालले माओवादी जडसुत्रवादी, उग्रवादी, अराजकतावादी र आतंकवादीसम्म रहेको चर्चा गरे । ‘माओवादी सैद्धान्तिक रुपमा जडसुत्रवादी राजनीतिक रूमा उग्रवादी, व्यावहारिक रुपमा अराजकतावादी र हत्या र हिंसा समेत गरेकाले आतंककारी शक्ति समेत बन्यो,’ प्रतिनिधि सभा सदस्य समेत ररहेका नेता रिजालले भने, ‘सुतेको अवस्थामा थुतेर माओवादीले हाम्रा नेता (बुद्धिमान पाख्रिन) मारेको हो । यसको जवाफ अहिलेको सत्य निरुपण तथा मेलमिलाप आयोगले दिनुपर्छ ।’
द्वन्द्वकालीन घटनामा नेपालको मात्र नभइ अन्तर्राष्ट्रिय समुदायको समेत आँखा परिरहेकाले सत्य निरुपण तथा मृलमिलाप आयोगले निष्पक्ष छानविन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउनुपर्ने धारणा उनको छ । माओवादीको कुकृत्यको जवाफ नेपाली जनताले पटक-पटक दिँदै आएको भन्दै उनले माओवादी पार्टीको आकार हेर्न आग्रह गरे । ‘माओवादी रुपान्तरण भएपछि २०६४ मा जनताले परीक्षण गरे । एमालेले जस्तो काम नगरेकाले २०६० सालको चुनावमा फेरि जनताले निर्मम मूल्याङ्कन गरे । माओवादीलाई जनताले नै जवाफ दिँदै आएका छन्,’ पोलिटब्युरो सदस्य रिजालले भने ।
यस्तै, सहिद पाख्रिनकी धर्मपत्नी एवम् संविधान सभा सदस्य शान्ति पाख्रिनले आफ्ना पति निर्दोष रहे पनि माओवादीले निर्ममतापूर्वक हत्या गरेको घटना स्मरण गर्दै आक्रोश व्यक्त गरिन् । श्रीमानको स्थान अरु कुनै पनि पदप्रतिष्ठा र खुसीले ओगट्न नसक्ने चर्चा गर्दै उनले आफ्नो राजनीतिक यात्रामा अनेकथरी टिप्पणी नगर्न आग्रह गरिन् । ‘म एमाले हुँ । कसैको लहैलहैमा बग्दिनँ, चानच्ने नठान्नुहोला,’ भावुक बन्दै उनले भनिन्, ‘श्रीमान भन्दा सांसद पद ठूलो कुरा होइन । आफूले गरेको त्यागको पनि राजनीतिमा मूल्य हुन्छ । चरित्रहत्या गरेर नेता बन्ने कुचेष्टा कसैले नगर्नुहोला ।’
कार्यक्रममा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष एवम् दोलखाका पुराना नेता बसन्तराज कार्कीले बुद्धिमान पाख्रिनको हत्याबारे माओवादीसँग निर्मम भएर प्रश्न गरी जवाफ खोज्नुपर्ने धारणा व्यक्त गरे । यस्तै, नेकपा एमाले सम्पर्क समन्वय कमिटीका सदस्य एवम् दोलखा–काठमाडौं सम्पर्क मञ्चका इञ्चार्ज रामप्रसाद रिमालले बुद्धिमान पाख्रिन र आफूबीचको सम्बन्ध र दोलखा एमालेमा उनको योगदानको चर्चा गरे ।
कार्यक्रममा बागमती प्रदेश कमिटी सचिवालय सदस्य कालिका पाठक, सदस्य मदन केसी, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक ठकुरी, उपाध्यक्ष सरोजमोहन लामा, उपसचिव सरिता जिरेललगायत सदस्यहरू कविता शिबाकोटी, विवेक खड्का अतिथि थिए । यसैगरी, दोलखा जिल्ला कमिटी सचिवालय सदस्य गणेश शिबाकोटी, सदस्य रिनन पोखरेल, विशाल विक, सुरेन्द्र मोक्तानलगायत नेताहरूको पनि आतिथ्यता रहेको सम्पर्क मञ्चका सचिव नारद खड्काले जानकारी दिए ।
एमालेमा रहेर राजनीति गरिरहने आफ्नो अडान नछाडे बापत एमाले जिल्ला कमिटीका तत्कालीन सदस्य बुद्धिमान पाख्रिनलाई आतंककारी शैलीमा हत्या गरिएको नेकपा एमाले दोलखाको दाबी छ । सहिद पाख्रिन समाजसेवी राजनीतिक व्यक्तित्व थिए ।
FACEBOOK COMMENTS