काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्ने तयारी छ। सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरूद्ध मुद्दा दर्ता गर्न लागेको हो।
कार्यालयले लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, जिबी राइका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐन अनुसार अभियोग पत्र आइतबार अदालतमा पेस गर्ने तयारी छ। यसअघि शुक्रबार सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्र बाबु (जिबी) राईसहित १९ जनाविरूद्ध थप मुद्दा दायर गरेको थियो।
जिबी राईसहित उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरूद्ध मुद्दा दर्ता गरिएको छ। पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरूङविरूद्ध मुद्दा दर्ता भएको थियो।
यसअघि सरकारी वकिलको कार्यालयले उनीहरूलाई सहकारी ठगीको अभियोग मात्र लगाएर मुद्दा दायर गरेको थियो। शुक्रबार लगाइएको थप अभियोगमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार बिगो र सजाय माग गरिएको छ।
शुक्रबार दर्ता भएको मुद्दामा ऐन अनुसार उक्त कसुरमा जोडिएका सबै जनाबाट एकमुष्ट १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैया बिगो र ८ देखि १० वर्ष कैद सजाय मागदाबी गरिएको छ। कास्की प्रहरीले पुस १ गते सोमबार सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
प्रहरीले लामिछानेसहित ५१ जनामाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन राय दिएको थियो। तीमध्ये कतिपयविरूद्ध पहिल्यै अदालतमा मुद्दा गएर धरौटी वा कारागारमा रहेको अवस्था छ भने धेरैजसो फरार छन्।
अनुसन्धान प्रतिवेदनमा प्रहरीले १ अर्ब ५१ करोड हाराहारीमा बिगो रकम दाबी गरेको थियो। आज मुद्दा दर्तापछि बयान सुरु भोलिबाट सुरु हुने छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । साधारण तारिखमा छुट्ने वा थुनामा बसेर अनुसन्धान गर्नेअदालतले गर्ने छ ।
FACEBOOK COMMENTS